साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

२०७८ श्रावण २५ सोमबार १८:२९:०० मा प्रकाशित

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए । १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दिएको छ ।

एकवर्ष पछि धकेलिएको प्रतियोगिता यसअघि सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने तालिका रहेको थियो । तर आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो । बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए ।

साफ च्याम्पियनसिप अहिलेसम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो  पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा  प्रस्थान गर्ने तालिका छ । 
 

ताजा खबर