नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आजदेखि सुरु हुँदै

२०७८ श्रावण २५ सोमबार ०९:४०:०० मा प्रकाशित

काठमाडौँ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उनले भने । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचारअर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नगर्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण भक्तजन प्रवेशमा निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

काठमाडौँ महानगरपालिका–७ चाबहिलका राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउँछन् । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्न मन्दिर बन्द रहेकाले असम्भव भएको भक्तजनको गुनासो छ । बाहिरबाट घुम्न भने धेरै भक्तजन आउँछन् ।

झरीले रोग व्याधलगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।

चाबहिल क्षेत्रमा घर घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिएकामा यस वर्ष कोरोनाका कारण सम्भव नहुने देखिएको यस क्षेत्रका भक्तजनको भनाइ छ ।

ठमेलमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका प्रदर्शन गरिने गुँला पर्वका अवसरमा विभिन्न बौद्ध बिहारमा दीपङ्कर बुद्ध तथा बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध बिहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो ।

भगवान् गौतमबुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गरेको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको बौद्ध धर्मावलम्बीको भनाइ छ । बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतमबुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गरेका हुन् । यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरूपमा मनाउँछन् । यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ ।

ताजा खबर