सकियो टोकियो ओलिम्पिक, ३९ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

२०७८ श्रावण २४ आइतबार २२:५३:०० मा प्रकाशित

राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै टोक्यो ओलिम्पिक सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए । उनले ओलिम्पिक खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान् उपहार आशा दिएको टिप्पणी गरे ।

कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए । समारोहमा ओलिम्पिकको झण्डा प्यारिसका मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ ।

अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रङ्गशालामा दर्शकहरूको उपस्थितिविनै भए । प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा उपस्थित जनाए ।

आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन्। पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो । आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो ।

 

ताजा खबर