पारसले लगाउने ७७ नम्बरको जर्सी  प्रयोग नगर्ने क्यानको निर्णय 

२०७८ श्रावण २४ आइतबार २०:३३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी  प्रयोग नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पारसको सम्मानका लागि ७७ नम्बरको जर्सी अब अरु कसैले पनि प्रयोग गर्न नपाउने बताएको हो ।

क्यानले आइतबार पारसले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै ७७ नम्बरको जर्सी प्रयोग नहुने निर्णय गरेको हो । नेपाली क्रिकेटमा कुनैपनि खेलाडीको जर्सी नम्बरमा प्रयोगमा नल्याइने निर्णय भएको यो पहिलो पटक हो ।

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान पारसले गत मंगलबार अन्तराष्ट्रिय  खेल  जीवनबाट सन्यासको घोषणा गरेका थिए । पारसको सन्यासपछि  सिनियर टिममा ७७ नम्बरको जर्सी अब कसले लगाउने भन्ने चर्चा समर्थक बीच थियो ।

क्यानको यो निर्णयपछि अब कहिल्यै कुनैपनि खेलाडीले राष्ट्रिय टिमबाट खेल्दा ७७ नम्बर जर्सी लगाउने छैनन् । घरेलु प्रतियोगितामा पवन सरार्फले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । राष्ट्रिय टिमको जर्सीबट पारसले अन्तिम पटक सन् २०२० मार्च ४ थाइल्यान्डविरुद्ध खेलेका थिए । सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका पारसले तीन पटक अन्डर नाइन्टिन विश्वकपमा नेपालको प्रतिनिधित्व गरे ।

२००९ मा नेपाली टिमको कप्तानी सम्हालेका पारसको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन पाँचदेखि एकदिवसीय मान्यता प्राप्त राष्ट्रसम्मको यात्रा तय गर्यो । उनकै कप्तानीमा नेपालले २०१४ को टि ट्वान्टी विश्वकप खेलेको थियो ।

 पारस एकदिवसीय र टि ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी खेलाडी पनि हुन् । खेल जीवन टुंग्याएका पारसले क्यान नेतृत्वमा आउने घोषणा गरिसकेका छन् । ७७ नम्बरको जर्सी अब प्रयोग नहुने निर्णय गरेकोमा पारसले क्यानलाई धन्यवाद दिएका छन् ।  क्यानले दिएको यो सम्मानबाट आफू गौरवान्वित भएको उनको भनाइ छ ।  


 

ताजा खबर