यसरी निको हुन्छ घर जाने बाटो बिर्सने रोग

२०७८ श्रावण २४ आइतबार ११:५६:०० मा प्रकाशित

प्रायः बुढेसकालमा लाग्ने धेरै बिर्सने रोग नै अल्जाइमर्स हो । शुरूमा यस रोगका कारण आफुले गरिरहेका कुराको प्रसंग नै बिर्सने, आफुले चलाई रहेका सामान जस्तै कलम, लट्ठी जस्ता कुरा कहाँ राखियो भन्ने नै बिर्सने हुन्छ । बिर्सने क्रम बढ्दै जान्छ र साथीभाइ, परिवारका सदस्य र बढ्दै गए पछि आफ्नो घर जाने बाटो नै बिर्सने हुन्छ । आफुले लगाई रहेको जुत्ता कहाँ फुकालेको, लाएर आएको थिएँ कि थिईन भन्ने समेत बिर्सिन्छ ।

यस्ता लक्षण भएर मस्तिष्कमा लाग्ने अरू रोग नदेखिए पछि अल्जाइमर्स रोग भएको शंका गरिन्छ । यही रोग बढ्दै गए पछि डिमेन्सियाको लक्षण देखा पर्ने हो । यसरी रोग कै कारण जब पहिलाको कुरा सम्झने तर अहिलेको कुरा चाहिँ पूरा बिर्सने हुन्छ, तब यस्ता रोगीहरूले अनौठो लक्षण देखाउन पनि थाल्छन् र आफ्नै स्याहार सुसार गर्नेहरूलाई पनि कुनै कुराको जस नदिने झर्को मान्ने हुन पनि सक्छन् । यसले गर्दा बृद्धहरूले पनि आफ्नै परिवारबाट दुःख पाउन थाल्दछन् ।

यो रोगीको रगतको परीक्षण गरि थाइराइड ग्रन्थीमा रगत कमी छ कि छैन, छ भने कस्तो प्रकार हो ? फोलेट भन्ने भिटामिनको कमी हो कि हैन ? छातीको एक्स् रे, टाउकाको एम आर आई, सि. टि स्क्यान र ई.सि.जि. जस्ता पूर्ण शारीरिक र मानसिक परिक्षण गरेर मात्र डाक्टरले रोगको निदान गर्न सक्तछन् ।

अस्पतालमा गरिने यस रोगका उपचारमा केही महँगा औषधी प्रयोग गरिन्छ । यस रोगमा औषधीको प्रयोग बढी सावधानी पूर्वक कुसल डाक्टरको निगरानीमा मात्र गर्नु पर्छ । किनभने यस रोगमा प्रयोग गरिने औषधीहरूको साईड ईफेक्ट धेरै छन् । जस्तै, मुख सुक्ने, पिसाव रोकिने, कब्जियत हुने र झन् बढी अल्मलिने हुन सक्छ । यस बाहेक हात खुट्टा काम्ने, निन्द्रा नपर्ने र बढी झर्कने पनि हुन सक्छ । बढदै गए पछि झुटो बोल्ने, आफुलाई हेरचाह गर्नेलाई पनि रीस गर्ने, सराप्ने, जे गरे पनि अपजस दिने झै झगडा गर्ने हुन्छ ।

यस्ता विरामीमा उपचारबाट सुधार भएको छ वा हानी भएको छ भन्ने थाहा पाउन पनि गाह्रो हुन्छ । फाईदा भएको थाहा पाउन निम्न अनुसार हेर्नुपर्छ ।

१) माथिल्लो तहका कामहरू, जस्तै स्मरणशक्ति, सन्तुलित विचार, समस्या सुल्झाउने क्षमता इत्यादि ।

२) विचको तहको कामहरू जसबाट स्नायुहरूको सुनियोजित काम जाँचिन्छ, जस्तै टाँक लगाउने, चित्र कोर्ने, भने अनुसार कुनै कार्य गर्ने इत्यादि ।

३) तल्लो तहको कामहरू– बानी परेर गरिने कामहरू जुन गर्नलाई केही खास विचार गर्नु पर्दैन, जस्तै– खानु, पिउनु, भलाकुसारी गर्नु ईत्यादि ।

यसरी हेर्दा ३-६ महिनासम्म पनि फाईदा गरेन भने औषधी खानु हुँदैन । जे भए पनि २–३ वर्षसम्म औषधी खाए पछि फेरि नखानु राम्रो हुन्छ ।

यस्ता रोगीहरूको स्याहारसुसार गर्दा धेरै धैर्य, सहनशील र सावधानीपूर्वक गर्नु पर्छ । विरामीसँग रिसाएर, वास्तै नगरेर हेरविचार गर्नु राम्रो हुँदैन । यस्ता विरामीहरूको व्यक्तित्व नै फरक हुँदै जाने भएकोले अझ हरहमेसा बढी ख्याल पुर्याउनु पर्छ । आफ्नो हेरचाह गर्नेले प्रत्येक पाइलामा याद गर्दा विरामीले पनि आफुलाई अपहेलना वा बेईजत गरेको भन्ने सोच्नु   हुँदैन ।

यस्ता रोगी लडेर चोट लाग्ने, आगोले पोल्ने, तातो पानी, चिया, कफी, दूध आदिले पोल्ने भएकोले पटक पटक सम्झाएर होसियारी गराई दिनु पर्छ । विरामीलाई सधैं पौष्टिक खाना दिने र व्यायाम योगाभ्यास हेरचाह गर्नेले नै गराई दिनु पर्छ । यस्ता रोगीलाई रूघाखोकी, कब्जियत, मूत्रासयमा किटाणुको आक्रमण जस्ता समस्या आउनसक्ने तर्फ सधै होसियारी हुनुपर्छ ।
सच्चिदानन्दको कामना सबैमा मंगल, शुभ र शान्ति फैलिरहोस् ! (सच्चिदानन्द शर्मा)
 

ताजा खबर