टोकियो ओलम्पिकमा केन्याका किपचोगेलाई पुरुष म्याराथनको स्वर्ण

२०७८ श्रावण २४ आइतबार १०:५०:०० मा प्रकाशित

टोकियो ओलम्पिकमा  पुरुष म्याराथनको स्वर्ण पदक केन्याका एलिउड किपचोगेले जितेका छन् । सन् १९८० यता ओलम्पिकमा म्याराथनको स्वर्ण पदक  रक्षा गर्ने उनी पहिलो खेलाडी हुन्  । साप्पोरो ओडोरी पार्कमा आइतबार बिहान भएको  प्रतिस्पर्धामा ३६ वर्षीय किपचोगेले निर्धारित दुरी २ घन्टा ८ मिनेट ३८ सेकेन्डमा पूरा गरेका थिए ।

म्याराथनमा ओलम्पिकमा लगातार दोस्रो स्वर्ण जित्ने उनी केवल तेस्रो खेलाडी हुन् । यसअघि १९६० र ६४  को ओलम्पिकमा  इथियोपियाका आबेबे बिकिलाले स्वर्ण जितेका थिए ।  १९७६ र १९८० मा जर्मनीका वाल्डेमर चियरपिन्सकीले लगातार दुई स्वर्ण  हात पारेका थिए ।

महान म्याराथन धावकमा गनिने किपचोगेले नेदरल्यान्डसका आब्दी नागेयीले भन्दा एक किनेट २० सकेन्ड छिटो लाइन पार गरेका थिए ।  आब्दीले २ घन्टा ८ मिनेट ५८ सेकेन्डको समय लगाएका थिए । बेल्जियमका बासिर आब्दीले २ घन्टा १० मिनेटमा दुरी पुरा गर्दै कास्य जिते ।

विश्व कीर्तिमानधारी किपचोगेको समग्रमा यो चौथो ओलम्पिक पदक हो । २००८ मा बेइजिङ ओलम्पिकमा ५ हजार मिटरमा रजत  र २००४ मा कास्य जितेका थिए  । फिंगर क्रस गर्दै दुइ स्वर्ण जितेको संकेत गरेका किपचोगेले खुशीलाई शब्दमा वर्णन गर्न नसकिने प्रतिक्रिया दिएका दिए ।

२०१९ मा उनले दुई घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेका थिए । तर सो समय भने विश्व कीर्तिमानमा समावेश भएन । गत अक्टोबरमा किपचोगेले लन्डन म्याराथनमा हार बेहोरेका थिए । सो हार उनको सात वर्षमा पहिलो थियो । यसका बाबजुत उनले उत्कृष्ट पुनरागमन गर्दै टोकियोमा स्वर्ण हात पारे । महिलातर्फको म्याराथन पनि केन्याकै पेरेज जेपचिरचिरले जितेकी थिइन् ।
 

ताजा खबर