नेपालको राजनीतिले विद्वानहरुको अस्तित्व नै नष्ट गरिदियो

२०७८ श्रावण २३ शनिबार ०९:१७:०० मा प्रकाशित

शुक्रबार दिउँसो ७६ वर्ष उमेरका इतिहासविद, पुरातत्वविद तथा भाषा विज्ञान अध्येता मोहनप्रसाद खनाल सुनाकोठीदेखि भेट्न आउनु भयो । नेपाली भाषाको एक हजार वर्ष पुरानो इतिहास प्रमाणित गर्ने प्रमाणसहित लेखन भएको उहाँको पुस्तक पनि दिनुभयो र रणोद्वीप राणा र जंङ्ग बहादुरको छोराहरूको हत्या ब्रिटिश रेसिडेन्टले गराएको पत्रसहितका प्रमाण फेला पारेको सन्दर्भको कुरा गर्नुभयो । बिगत केही समयदेखि मैले नेपालको इतिहासका बारेमा गरेको विश्लेषणको लागि बधाई पनि दिनुभयो। कोलोम्बियामा पढेका, ३८ वटा पुस्तक लेखेका, सम्पूर्ण नेपाल पैदल हिँडेर नेपालको इतिहासको प्रमाण संकलन गरेका, दर्जनौ अन्तर्राष्ट्रिय जर्नलमा नेपालको पुरात्विक प्रमाणमा आधारित अनुसन्धानात्मक लेख रचना गरेका ३७ बर्ष सिनासमा अनुसन्धानमा संलग्न सबै प्राचीन लिपि पढ्न सक्ने विद्वान हुनुहुन्छ उहाँ ।

१. के राज्यले चिन्छ उहाँलाई ? नेपालको इतिहास विदेशीहरुले जानाजानी सपाप्त पारिदिए । राजतन्त्र हुँदा पनि, त्यसपछि २०४७ पछाडि त खुलम्खुला । देश आज तोडमरोड गरिएको इतिहास बोकेर एम्नेसियाको रोगबाट ग्रस्त भएको भएको छ ।

२. मैले चीन जाँदा चिनियाँ इतिहासका ग्रन्थबाट नेपाल चिन्ने केही प्रयास गरें । तिब्बतको लिपि नेपाली देवनागरी लिपिसँग मिल्दोजुल्दो छ। मैले निसंङ्कोच अभिव्यक्तिमा तिब्बती लिपिको नेपाली लिपिसँग तुलना डराइ डराइ गरें । तर खनालजिले आज मैले गरेको प्रयास सही हो भनी आभार व्यक्त गर्नुभयो, मलाई अझ उत्साह बढेको छ।

३. भरखरै लेखी सकेको डीकोलोनाइजेसन अफ नेपालीज जुरिसोरुडेन्शमा कसरी उपनिवेशी यात्री र लेखकले नेपाली कानुन र न्यायप्रणालीको गलत विवरण दिए र अपमानित गर्ने काम गरे भन्ने कुराको अध्यन गरें, खनालजीले लिच्छविकालदेखिका ६०० जति फैसलाका ठहरको मनेस्कृप्ट तयार पार्नु भएको रहेछ । मैले लेखेका कुराहरु सही रहेछन् ।

४. तिब्बतका थोन मि सम्बोताले तिब्बती लिपि तयार पारेको विवरण मैले निसंकोच अभिव्यक्तिमा लेखेको छु । केही दलाइ लामा पक्षधर तथा चिनियाँ अनाडी इतिहासकारले भारतमा बसेर थोन मिले तिब्बती लिपि तयार पारेको व्यहोरा लेखेका छन् । तिनले त भृकुटीको विवाह पनि तिब्बतमा भएको होइन भनेका छन् । नेपालले तिब्बत त चीनको संस्कृति निर्माण गर्न अहम् भूमिका खेलेको छ। तर यो देशका शासकले यो देशलाई किर्ना र जुका जस्तो चुसेका छन् । कोही सत्ताका लागि लडेका छन् । कोही धर्मनिरपेक्षताको जनमत सङ्ग्रहको गफ गर्छन्, कोही विदेशिका लगानीले देश समृद्ध हुन्छ भनेर गफ हाँक्छन् ।

५. देशको पहिलो पूर्वशर्त हो त्यसको स्वाभिमान । त्यो स्वाभिमानले नागरिकलाई हक्की र निडर बनाउँछ । निडर नागरिक कुरौटे र खुट्टा तान्ने फोहोरी चरित्र नभएको असल मान्छे   हुन्छ । उसले झोले चरित्र बोक्दैन र राष्ट्र र जनतालाई काँधमा बोकेर हिँड्छ ।

पछिल्लो समयमा नेपालको राजनीतिले विद्वानहरुको अस्तित्व नै नस्ट गरिदियो । प्राध्यापक भए पनि संस्थानको जिएम हुन चाकरी गर्ने दोग्ला मानिसलाई काखी च्यापेर हिँड्यो । अहिले विद्वान हुन एनआरएन, पार्टीको संगठनमा बसेको सदस्य, एनजिओको मालिक र त्यस्तै त्यस्तै योग्यता भएको मानिस हुनुपर्छ । के यो हालत नबदली देशको विकास सम्भव छ ? एक पटक अटल बस्ने ध्रुबताराले नेपालको इतिहास संसारको इतिहाससँग तुलना गरेछन् । संसारभरी बाँदर उन्नयन हुँदै मानिस बनेछन् । तर नेपालमा के भयो कुन्नी ‘मानिस उन्नयन भएर बाँदर बनेछन् ।’ उनलाई पनि थाहा छैन किन यस्तो भयो । तर अब खोज्ने बेला भयो जस्तो लाग्छ । (संग्रौलाको फेसबुकबाट)

ताजा खबर