विपी प्रतिष्ठानमा अनियमिता गर्नेमाथि कारबाही हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

२०७८ श्रावण २२ शुक्रबार १४:१८:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टैै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि दिए । उनले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’

राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको बताए । उनले सार्वजनिक महत्वको संस्थाहरुलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसतर्फ सहयोग गर्न आग्रह गरे ।

बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको ध्यनाकर्षण गराए । बैठकमा समितिका सदस्यहरुले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन सरकारलाई सचेत गराएका थिए ।

ताजा खबर