राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा हजरत मोहम्मद जन्मजयन्तीको शुभकामना

२०७४ मङ्सिर १५ शुक्रबार ०७:१७:०० मा प्रकाशित

काठमाडौँ, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । 

नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको छ, शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।  

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हजरत मोहम्मदको १४३२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले एक विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उनले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिएका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । 
हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । 

ताजा खबर