अन्ततः मेसीले बार्सा छोडे

२०७८ श्रावण २२ शुक्रबार ०८:५७:०० मा प्रकाशित

लियोनल मेसीको, २१ वर्षीय बार्सीलोना बसाइ अन्त्य भएको छ । स्टार स्ट्राइकर मेसी र स्पेनिस क्लब बार्सीलोनाबीच नयाँ सम्झौता हुने भनिएपनि ला लिगाको वित्तिय र संरचनात्मक बाधाका कारण सम्भव भएन । क्लबले विज्ञप्ती जारी गर्दै मेसीसँगको सहकार्य समाप्त भएको जानकारी दिएको हो । बार्साले जारी गरेको विज्ञप्तिमा दुवै पक्ष ( बार्सीलोना र मेसी ) नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमत भएपनि ला लिगाको खेलाडी रजिस्ट्रेशन सम्बन्धि नियमका कारण सम्भव नभएको उल्लेख गरिएको छ । यसको मतलव मेसी अब  क्लबमा बस्ने छैनन् । विज्ञप्तिमा लेखिएको छ – सहकार्य टुंग्याउनु पर्दा दुवै पक्षलाई अफसोच महसुस भएको छ , मेसीको आगामी  भविष्यका लागि शुभकामना ।

मेसीले क्लबमा पुर्याएको योगदानका लागि पनि बार्साले धन्यवाद व्यक्त गरेको छ ।  मेसी र क्लब बीच पांच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने  सहमति भएको थियो ।  अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधी जितेपछि विदामा रहेका मेसी हस्ताक्षर गर्नकै लागि स्पेन आएका थिए ।  सन २०२६ सम्म क्याटालान क्लबमानै रहने भन्दै मेसी आफ्नो तलब आधा कटौती गर्न पनि राजी भएका थिए । तर ला लिगाले, मेसी र अन्य खेलाडीसँग सम्झौता गर्नु अघि पारश्रमिक घटाउनु पर्ने बताएपछि मेसीको एरा बार्सामा सकिएको हो । मेसीसँगको सहकार्यलाइ निरन्तरता दिन नसक्नुमा बार्साले ला लिगाको खेलाडी दर्ता सम्बन्धि नियमलाई दोष दिएको छ ।  ३४ वर्षिय मेसी  सम्झौता सकिएपछि गत जुलाइ १ देखी फ्रि ट्रान्सफरका लागि उपलब्ध छन । २०२० मा मेसीले बार्सा छोड्न चाहेको बताउँदै सवैलाई आश्चर्यमा पारेका थिए । उनले बार्सालाइ पत्र लेखेरनै नोउ क्याम्प छोड्ने इच्छा व्यक्त गरेका थिए ।
किन भएन सम्झौता ?
मेसीसँगको सम्झौताका लागि बार्सीलोनाले खेलाडी बेच्नु पर्ने थियो । ला लिगाको फाइनान्सियल फेयर प्ले एफ पि पि मापदन्ड पुरा गर्न बार्साले पारिश्रमिकमा करिब २०० मिलियन युरो  कटौती गर्नुपर्नेछ । जुन बार्साले अहिलेसम्म गर्न सकेको छैन ।
 
बार्सामा मेसीको करियर  
मेसी बार्सीलोनाका कीर्तिमानी गोलकर्ता हुन् । उनले ६ सय ७२ गोल गर्दै दश ला लिगा, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे , तीन युएफा सुपर कप र तीन क्लब विश्वकप उपाधी जितेका छन् । ७ सय ७८ खेल खेलेका उनले ला लिगामा कीर्तिमानी ४ सय ७४ र च्याम्पियन्स लिगमा १ सय २० गोल गरेका  थिए । २००० मा १३ वर्षको उमेरमा मेसी बार्साको युवा एकेडेमीमा पुगेका थिए । २००४ मा उनले सिनियर टिममा डेब्यु गरे । त्यसयता उनले क्लब फुटवलमा प्राप्त गर्नुपर्ने सवै उपलब्धि हासिल गरे । दश नम्बरको जर्सीलाइ स्थापित गरेका मेसी हाल विश्व फुटवलको एक उत्कृष्ट स्ट्राइकर मानिन्छन् । यो बीचमा उनी ६ पटक बलुन डि योरको अवार्ड जित्न सफल भए । बार्सीलोनाका लागि उनले कुल ३५ उपाधि जिते । उनी बार्सीलोनाकै सर्वाकालिन महान खेलाडी मानिन्छन् ।
 
अबको बाटो
बार्सा नबस्ने पक्का भएसंगै मेसी अब कहाँ जान्छन् भन्ने बहस सुरु भएको छ । एक वर्ष अघि मेसीले बार्सा छोड्न चाहेको बताएपछि इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी  जाने चर्चा चलेको थियो । मेसीको पुर्व प्रशिक्षक पेप ग्वार्डिवालाको टोली सिटीले पनि इच्छा व्यक्त गरेको बताइएको थियो । तर सिटीले एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाइ अनुबन्धन गरिसकेको छ । उसले टोटेनहमका  स्ट्राइकर हेरी केनलाइ पनि भित्राउन खोजीरहेको छ । जसका कारण मेसी सिटी आउने संभावना बन्द भएको बताइएको छ । तर सिटीका अबुधाबीका मालिकको पकेटमा मेसी ल्याउन सक्ने रकम अझै रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी संग पनि मेसीको नाम जोडिएको छ । बार्सीलोनामानै रहने संभावनालाइ पनि नर्कान सकिने विश्लेषकहरुले जनाएका छन् । ला लिगाको नियमका कारण विश्व फुटवलको उत्कृष्ट खेलाडीले लिग त्याग्नु परेको बताइएको छ । मेसीका लागि ला लिगाले नियममा लचकता अपनाउन सक्ने सम्भावना रहने बताइएको छ । 
 

ताजा खबर