जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

२०७८ श्रावण २१ बिहीबार १६:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण हुन लागेको शालिकको बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गरेका हुन् ।

सो स्थानमा उनको पूर्णकदको शालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने भएको छ । शालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालय साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले इतिहास बिर्सिए धर्म, संस्कृति र संस्कार सबै बिर्सने भएकाले नेपाल एकीकरण मार्गलाई संरक्षण गर्ने अभियान शुरु गरिएको बताए । गोरखाबाट काठमाडौँसम्मको एकीकरण एवं यस वरपर रहेका ऐतिहासिक किल्ला, गढीको संरक्षण गरेर सङ्ग्रहालय, उद्यान, शालिक, स्तम्भजस्ता स्थल निर्माण गर्ने कामलाई नेपाली सेनाले प्राथमिकतामा राखेको उनले बताए ।

“सिन्धुलीगढी, जितपुरगढीजस्ता ऐतिहासिक स्थलले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका निभाएका छन्, अङ्ग्रेजसँग भएको युद्धमा वीर योद्धाले यी स्थानबाट शत्रु पराजित गरेकाले यिनको संरक्षणमा काम भएको छ, सिन्धुलीलगढीमा सङ्ग्रहालय निर्माण भएको छ, त्यसलाई हेरेर यहाँ पनि एकीकरण सङ्ग्रहालय निर्माण गर्नुपर्छ”–उनले भने ।

एकीकरणमा तराइवासीको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सिन्धुलीगढीको युद्धका क्रममा जनकपुरबाट रसद पानी नआएकाले नेपाली सेनालाई युद्ध रणनीतिमा सहज भएको तथ्य बताए । बारा र पर्साका मानिसको पनि नेपाल एकीकरण र अङ्ग्रेजलाई हराउन योगदान रहेको उनले स्मरण गरे ।

नगर प्रमुख सुवर्ण श्रेष्ठले पर्यटकीय दृष्टिले महत्वपूर्णस्थल जहरसिंहपौवामा निर्माण गर्न लागिएको एकीकरण अभियानका प्रथम सेनापति बस्न्यातको शालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचनाले यसको महत्वलाई अझ बढाउने बताए ।

नगरपालिकाको साँगाचोक भन्ने स्थानमा बस्न्यातले वीरगति प्राप्त गरेपछि उनका नाति जहरसिंह बस्न्यातले प्रथम सेनापति शिवरामको स्मृतिमा पौवा बनाएपछि नै यस स्थानको नाम जहरसिंह पौवा रहेको ऐतिहासिक दस्तावेजका आधारमा यस ठाउँको विकास गर्न लागिएको हो ।

नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि एकीकरण अभियानका पहलिो सेनापति बस्न्यातका बारेमा पाठ समावेश गरिएको छ ।

कक्षा ७ को व्यक्ति परिचय शीर्षकको पाठ समावेश गरिएको नगरपालिकाको शिक्षा शाखाका पूर्व प्रमुख बोधराज निरौलाले जानकारी दिए ।
वडाध्यक्ष सन्तबहादुर वाइवाले पर्यटन र कृषिका माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने योजना अनुरुप ऐतिहासिकस्थल जहरसिंह पौवालाई संरक्षण एवं प्रचारप्रसार गर्न लागिएको बताए ।

सैनिक इतिहासको विषयमा खोज अनुसन्धानमा लाग्नुभएका पूर्व जर्नेल डा प्रेमसिंह बस्नेतले तामाङ राजाले जार काटेर जहरसिंह पौवा नाम रहेको भन्ने स्थानीयवासीमा रहेको भ्रमलाई ऐतिहासिक दस्तावेज तथा प्रमाणका आधारमा मेटाएर शालिक, सङ्ग्रहालय र उद्यान निर्माण गर्न लागिएको बताए ।

श्रीपाली बस्नेत समाजको नेतृत्वमा शालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचना निर्माण गर्न लागिएको हो । कार्यक्रममा समाजका अध्यक्ष पूर्व राजदूत डा निरञ्जनमानसिंह बस्नेतले एकीकरण शुरु भएपछि शिवरामसिंह बस्न्यात प्रथम सेनापति नियुक्त भई ९०० सेनाका साथ गोरखाबाट नुवाकोट, काठमाडौँ विजय गर्दै जहरसिंह पौवाबाट पूर्व लागेको बताए ।

वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जहरसिंह पौवाको पनि पुनःनिर्माण गर्न लागिएको जानकारी कार्यक्रममा दिए । पौवा निर्माण गर्दा १६ रोपनी जग्गा भए पनि अहिले त्यो मासिएकाले नगरपालिकासँग जग्गा लिएर संरचना निर्माण गर्न लागिएको सो अवसरमा जानकारी दिइएको छ ।

ताजा खबर