युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाअध्यक्ष पक्राउ

२०७८ श्रावण २१ बिहीबार १२:३७:०० मा प्रकाशित

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

ताजा खबर