क्रिकेटका नेपाली 'रोलमोडल' ले किन थन्क्याए जर्सी ?

२०७८ श्रावण २० बुधबार ११:४५:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो एक दशक नेपाली क्रिकेट  र पारस खड्का एक अर्काका पर्याय नै बने भन्दा अन्यथा हुँदैन । यतिमात्र होईन, क्रिकेटप्रेमी नेपाली दर्शक पारस विनाको नेपाली टिमको कल्पना नै गर्न चाहँदैन थिए ।

विश्व क्रिकेट लिग डिभिजन ५ देखि एक दिवसीय मान्यता प्राप्त राष्ट्रसम्मको यात्रामा पारसले नेपाली टोलीको सफल नेतृत्व गरे । नेपालको क्रिकेट व्यवस्थापन संस्थाहरु विश्वकप खेल्ने सपना देख्न पनि हिच्किचाईरहेका बेला पारस नेतृत्वको टिमले त्यसलाई वास्तविकतामा परिणत गरिदियो ।

नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान बनेका पारसले शान्त र सामान्य रुपमा सन्याशको घोषणा गरेका छन् । पारसका लागि  सन्याश योजना अनुसार नै हो । तर समर्थक त्यसका लागि तयार थिएनन् । पारसको सन्याश पछि सामाजीक संजालमा आएका प्रतिृकयाले पनि यो कुरा पुष्टि गर्छ । उच्च फर्ममै रहेका पारसले नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलको नतिजा जस्तै गरी सवैलाई आश्र्चयमा पार्दै  नेपालको जर्सी थन्क्याउने निर्णय गरेका हुन् । उनको सन्याश सवैका लागि अप्रत्याशित र अनेक्षित मानिएको छ । 

साउन १९ गते मंगलबार विहानै सामाजीक संजालमा पारसले पोस्ट गरे– ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता ब्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिने निर्णय लिएको छु’, दोस्रो लाइनमा लेखिएको छ । नेपालका लागि खेल्नु पाउनु जीवनको सर्वश्रेष्ठ उपलब्धि । नेपालका लागि पनि पारस सर्वश्रेष्ठ खेलाडी हुन् । टि ट्वान्टी विश्वकमा डेब्यु, एकवसीय मान्यता पाउँदै सिरिज जित्नु पारसको कप्तानीमा नेपालले हात पारेका प्रमुख सफलता हुन् । पारस नेपालका मात्र होइन एसोसिएट राष्ट्रकै रोल मोडल हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गत वर्ष एसोसिएट प्लेयर अफ दि डेकेडको मनोनयनमा समेत पारसलाई राखेको थियो ।  ७७ नम्बरको जर्सी लगाएर अग्ला पारस मैदान प्रवेश गर्दा मैदानमा एउटै आवाज गुञ्जिएको थियो– पारस, पारस, पारस ... ! 

उनी नेपाली खेलकुदमा सर्वाधिक लोकप्रिय खेलाडी मध्येमा पर्छन् । नेपालमा स्टारडम हासिल गर्ने खेलाडी एकदमै कम छन् । त्यसमा पारस पहिलो स्थानमा आउँछन् भन्दा फरक नपर्ला । करिब दुइ दशक क्रिकेट करियरमा पारस एक्लै सफल भएनन् । उनले आफूसँगै अर्को पुस्तालाई प्रेरित गरे । नेपाली अभिभावकमा  आफ्ना छोराछोरीलाई क्रिकेट खेल्न दिनुपर्छ भन्ने सोच पारसले नै भरेका हुन् । 

यस्तो छ पारसको खेल करियर 

सन २००२ देखि क्रिकेट खेल्न सुरु गरेका पारसले नेपाली क्रिकेटको सवै उतारचढावमा साथ दिए । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा पारसले २००२ मा युएइमा एसीसी यु–१५ कप खेलेका थिए । अर्को वर्ष एसीसी यु–१७ कपमा सहभागिता जनाए । २००४ मा टियु मैदानमा भएको अन्तर महादेशीय कपमा मलेसिया विरुद्ध खेल्दै पारसले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यो प्रतियोगिताले फस्टक्लासको मान्यता पाएको थियो । पारसले २००४, २००६ र २००८ मा गरी तीन पटक आइसीसी अण्डरनाइन्टिन विश्व कपमा नेपालको प्रतिनिधित्व गरे । २००७ मा पारसकै कप्तानीमा नेपालले एसीसी अण्डर नाइन्टिनको उपाधी जित्यो । २००८ मा उनैको कप्तानीमा अण्डरनाइन्टिन विश्व कपमा नेपालले जिम्बाब्वेलाई पराजित गरेको थियो । २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै पारसलाई कप्तानको भूमिका दिइएको थियो ।

आफूले पाएको भूमिकालाई पारसले न्याय मात्र गरेनन्  उनी नेपाली क्रिकेटको इतिहासको सर्वाधिक सफल कप्तान बन्न सफल पनि भए । पहिलो पटक उनले एसीसी ट्वान्टी ट्वान्टी कपमा राष्ट्रिय टिमको कप्तानको भूमिका निभाएका थिए । २०१० मा अमेरिकालाई पराजित गर्दै नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधी जित्यो । यहि वर्ष एसीसी ट्रफीमा कुबेत विरुद्ध पारसले पहिलो शतक बनाएका थिए । उनले १ सय ६ रनको अविजीत पारी खेले । पारसको नाममा एकदिवसीयमा पाँच शतक छ । जसमा एक शतक एकदिवसीय अन्तर्राष्ट्रियमा हो । टि ट्वान्टी अन्तर्राष्ट्रियमा पारसले एक शतक प्रहार गरेका छन् । उनी एकदिवसीय र टि ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि हुन् । पारसले युएइ विरुद्ध १ सय १५ रन बनाउँदै एकपदसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका थिए । पारस  सिंगापुर विरुद्ध १ सय ६ रनको उत्कृष्ट पारी खेल्दै टि ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका थिए । यी दुवै उपलब्धि  उनले २०१९ मा प्राप्त गरेका हुन् । 

विश्वकप र एकदिवसीय मान्यता 

नेपालले कुनैपनि फरम्याटको विश्व कप खेल्ने भन्ने विश्वास कसैलाई थिएन । तर त्यहि समयमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कपमा स्थान पक्का गर्यो । यो नेपाली क्रिकेटका लागि एक ऐतिहासिक सफलता हो । २०१३ मा भएको टि ट्वान्टी विश्व कप छनोटमा तेस्रो हुँदै नेपालले फाइनल चरणमा स्थान बनाएको थियो । विश्व कपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग हार बेहोरेको थियो । यो विश्वकप पछि नेपालमा क्रिकेट र पारसको क्रेज ह्वात्तै बढ्यो । क्रिकेटमा रुची नराख्नेहरु पनि नेपाली खेलाडीबारे सर्च गर्न थाले । निजी क्षेत्रको आकर्षण बढ्न थाल्यो । नयाँ पुस्ता क्रिकेट खेलप्रति आकर्षित हुन थाल्यो । नेपाली टिमले मैदानभित्र हात पारेको सफलताकै कारण नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्बनमा हुँदा समेत त्यसको असर समर्थकमा परेन । अर्थात् निरन्तर समर्थकले नेपाल टिमलाई साथ दिइ रहे । 

२०१८ मा नेपालले  एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । त्यसपछि नेपालले २०१९ अगस्ट एकमा नेदरल्यान्डस बिरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गर्यो । दुइ खेलको सिरिज एक एकको बराबरीमा टुंगिएको थियो । पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जीत हात पार्यो । सो  जीतको नायक पनि पारस खड्का नै थिए । नेपालले युएइ बिरुद्ध एकदिवसीयमा पहिलो एकदिवसीय सिरिजको उपाधी जितेको थियो । पारसले २०१९ को अगस्ट १५ मा यसरी नै सवैलाई आश्चर्य चकित बनाउँदै कप्तान पद छोडेका थिए  । 
पारसले दश एकदिवसीय खेल खेल्दै ३ सय १५ रन बनाएका छन् । उनले ३३ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसमा उनले ७ सय ९९ रन बनाए । ४४ लिस्ट ए मा पारसले १ हजार ४ सय ९७ रन  जोडेका छन् । ५६ टि ट्वान्टी खेलेका उनको १ हजार ३ सय ७७ रन प्रहार गरेका छन् । पारसको नाममा १७ अन्तर्राष्ट्रिय विकेट छ ।  

किन सामान्य सन्याश 

पारसले आफूले यस्तै सामान्य सन्याश चाहेको बताए । आफूले भन्दा पनि बसन्त रेग्मी, शक्ति गौचन जस्ता खेलाडी भब्य विदाइको हकदार भएको उनको भनाइ छ ।  नेपाली क्रिकेटको सफलतामा महत्वपूर्ण भूमिका निभाएका शक्तिले फ्रेञ्चाइज एभरेस्ट प्रिमियर लिग मार्फत सन्याश घोषणा गरेका थिए । अर्का स्पिनर बसन्त अहिले राष्ट्रिय टिम भन्दा बाहिर छन् । पारसले उनीहरुको सन्याश सम्मानजनक हुनुपर्ने बताएका छन् । 

क्यानको प्रतिकृया 

नेपाल क्रिकेट संघ क्यानले पारसको सन्याशलाई अप्रत्यासित घटना भनेको छ । अध्यक्ष चतुर बहादुर चन्दले मंगलबार विहान ७ बजेतिर मात्र पारसले सन्याश लिँदैछु भनेर क्यानमा इमेल गरेको बताए । उनले पारसको निर्णयले आफूहरु पनि आश्चर्यमा परेको प्रतिकृया दिए । क्यानले अघिल्लो दिन मात्र पारस सहित ओमानमा सिरिज खेल्न जाने नेपाली खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलाई पठाएको थियो । 

अब के ? 

पारसले खेल जीवनपछि क्यानको नेतृत्वमा आउने यसअघि नै बताइसकेका छन् । पारसले आफ्नो पोस्टमै लेखेका छन्– ‘अन्तराष्ट्रिय खेल जीवन सकिएको हो नेपाली क्रिकेटमा बामे सर्दैछु ।’

क्यान विधानमा निर्वाचनमा सहभागी हुन कम्तीमा दुइ वर्ष अन्तर्राष्ट्रिय खेल जीवन त्यागेको हुनु पर्छ । यसैलाई मध्यनजर गर्दै पारसले सन्याश लिएको अड्क गरिएको छ । क्यानको निर्वाचन दुइ वर्ष पछि हुनेछ । खेलाडीका रुपमा पाएको माया र साथ अबको नयाँ यात्रामा पनि पाउने पारसले विश्वास गरेका छन् । 

क्यान निलम्बनमा हुँदा पारसले खेलाडीको अभिभावकको भूमिका पनि निभाए । पारस आफ्ना कुरा प्रस्ट राख्न कहिल्यै पनि डराएनन् । टि ट्वान्टी विश्व कप पछि खेलाडीको सेवा सुविधाको माग गर्दै उनी नेतृत्वको टिम क्यान विरुद्ध उत्रिएको थियो । खेलाडी छनोटमा एकाधिकार जमाएको भनेर उनीमाथि आरोप पनि लाग्यो । तर पारसले आफूले कहिल्यै पनि अन्याय नगरेको बताउँदै आएका छन्  । 

आफ्नो उचाइ भन्दा पनि ठूलो ख्याती कमाउँदै खेल अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गरेका पारस दोस्रो पारीमा पनि उस्तै सफल होलान् त ?  शुभेच्छुहरुको प्रश्न जवाफ पाउन आतुर रहने छ । 
 

ताजा खबर