हाईजम्पको स्वर्ण पदक दुइ खेलाडीले बाँडेर लिए

२०७८ श्रावण १८ सोमबार ०९:५०:०० मा प्रकाशित

काठमाडौं । ओलम्पिक अन्तर्गत एथ्लेटिक्समा १ सय ९ वर्ष पछि पहिलो पटक स्वर्ण पदक दुइ खेलाडी बीच बाँडिएको छ । जारी टोकियो ओलम्पिकमा पुरुष हाइ जम्पको स्वर्ण इटाली र कतारका खेलाडीले संयुक्त रुपमा जितेका छन् । 

इटालीका जानमार्के ताम्बेरी र कतारका मुताज एस्स बर्शिम आपसमा स्वर्ण पदक बाँड्न सहमत भएका हुन् । दुइ घण्टासम्म चलेको प्रतिस्पर्धामा बर्शिम र ताम्बेरी दुवैले समान २.३७ मिटर उचाइ पार गरेका थिए । त्यसपछि विजेताको टुंगो लगाउन अर्को अवसर प्रस्ताव गरिएको थियो । तर खेल भावनाको कदर गर्दै दुवै खेलाडी स्वर्ण बाँड्न सहमत भए । उनीहरुले निकै लामो समयसम्म खुशियाली मनाएका थिए ।

यसअघि ओलम्पिकको एथ्लेटिक्समा सन् १९१२ मा स्वर्ण दुइ खेलाडीलाई दिइएको थियो । बर्शिम र ताम्बेरीले ओलम्पिक कीर्तिमानका लागि तीन पटक प्रयास गरेका थिए । दुवै जना तीनै पटक असफल भए । ओलम्पिक कीर्तिमान २.३९ र विश्व कीर्तिमान २.४५ मिटर रहेको छ । खेलका अफिसियलले अर्को प्रयासका लागि प्रश्न गरेका थिए । तर बर्शिम र ताम्बेरीले एक आपसमा खुशी साट्दै संयुक्त रुपमा स्वर्ण लिने निर्णय   गरे । बेलारुसका मास्किमले कास्य जिते ।

 

एक सय मिटरको स्वर्ण ज्याकोबलाई

ओेलम्पिकमा एक सय मिटर दौडलाई विषेश आकर्षणको रुपमा लिइन्छ । टोकियो ओलम्पिकमा पनि एक सय मिटरको  स्वर्ण कस्ले जित्न भन्ने ब्यापक चासो थियो । किनकी यो विधाको स्वर्ण युसेन बोल्टको नाममा थियो । त्यसैले टोकियो ओलम्पिकको च्याम्पियनलाई बोल्टको उत्तराधिकारीको रुपमा हेरिएको हो । सवैलाई आश्चर्यमा पार्दै इटालीका लेमोन्ट मार्शेल ज्याकोबले पुरुष तर्फको एक सय मिटर दौडमा स्वर्ण हात पारे । उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पुरा गरे । एक सय मिटरमा स्वर्ण जित्ने ज्याकोब पहिलो इटालियन खेलाडी हुन् ।

अमेरिकाका फ्रेड केर्लीले ९.८४ सेकेन्डको समय निकाल्दै रजत र क्यानडाका आन्द्रे ग्रेसले कास्य जिते । उनले ९.८९ सेकेन्डमा दूरी पूरा गरेका थिए । 

ताजा खबर