पिएसजीलाई सिजनको सुरुमै नमीठो झड्का 

२०७८ श्रावण १८ सोमबार ०९:४२:०० मा प्रकाशित

काठमाडौं । पेरिस सेन्ट जर्मेन पिएसजीलाई सिजनको सुरुवमै नमीठो झड्का लागेको छ । सिजनको सुरुवातका रुपमा लिइने फ्रेन्च सुपर कपको फाइनलमा पिएसजी लिलसँग एक शून्य गोलले स्तब्ध भयो । इजरायलको तेलअभिवस्थित ब्लुमफिल्ड स्टेडियममा गएराती भएको  खेलमा पहिलो हाफमा गरेको गोल नै लिलका लागि उपाधी जित्न पर्याप्त बन्यो । उसका लागि ४५ औं मिनेटमा सेकाले गोल गरेका थिए । 

पिएसजी प्रशिक्षक माउरिसियो पोचेटिनोको स्टार स्ट्राइकर नेइमार र किलियन एमबाप्पे विनाको टोली मैदान उतारेका थिए । नेइमार अझै विदामै छन् भने एमबाप्पेले टिमसँग अभ्यास गरेपनि प्रशिक्षक पोचेटिनोले समावेश गरेनन् । यसै सिजन रियाल मड्रिडबाट पिएसजी पुगेका डिफेन्डर सर्जियो रामोसले अझै क्लबबाट डेब्यु गरेनन् । माउरो इकार्डी, असरर्फ हाकिमी र एन्डर हेरराले पिएसजीको हार टार्न सकेनन् ।

पिएसजीले बारम्बार प्रयास गरेपनि लिलको रक्षपंक्ति तोड्न सकेन । गत सिजन लिलले पिएसजीलाई एक अंकले पछि पार्दै लिग वानको उपाधी जितेको थियो । लिलले पहिलो पटक सुपर कपको उपाधी जितेको हो । यसअघि सन् १९५५ र २०११ म उपविजेता बनेको थियो । पिएसजी कीर्तिमानी दश पटकको विजेता हो । २०१३ देखि  एकछत्र राज गर्दै आएको पिएसी यसपटक भने उपाधी रक्षा गर्न असफल भयो । लिग वान र कप डि ट्रफी बीचको विजेता बीच सुपर कप खेलाइन्छ । सुपर कपसँगै सिजनको सुरुवात हुने गर्छ ।

लिग वान अगस्ट ८ बाट सुरु हुँदैछ । लिलले आफ्नो पहिलो खेल ब्रेस्ट र पिएसजीले ट्रोयससँग खेल्नेछ । 

ताजा खबर