एन्फा उपाध्यक्ष र प्रशिक्षकको मनमुटावमा किन मन्त्रालय गुहारियो ?

२०७८ श्रावण १६ शनिबार ११:४०:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बीचको विवादले मनमुटावको रुप धारण गरिसकेको देखिन्छ । एन्फाले यो विवादलाई आन्तरिक छलफल र परामर्शबाट निप्टारा गर्न सक्ने अवस्था भएपनि नकारात्मक चर्चाको अवसर दिएर झन जटिल बनाउँदै लगेको खेलविज्ञहरुको बुझाई छ ।

एन्फा नेतृत्वले बेलैमा सकारात्मक हस्तक्षेप गरेको भए यो विवादले मनमुटावको रुप लिन नपाउने भन्ने खेलाडीहरुको राय देखिन्छ । अहिले आएर यसबारे छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई गुहार्नु परेको छ । एन्फा कार्यसमितिले शुक्रबार आपतकालिन बैठक राखेर विवाद छानविनका लागि खेलकूद मन्त्रालय गुहार्ने निर्णय गरेपछि विवाद झन जटिल हुने देखिएको हो ।

गत आइतबार राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले सामाजीक संजालमा स्टाटस लेख्दै उपाध्यक्ष नेम्वाङले काममा बाधा पुर्याएको भन्दै पद बाट राजीनामा दिने घोषणा गरेका थिए । उनले समर्थकलाई सम्बोधन गर्दे लेखेको स्टाटसमा नेम्वाङले विगत केही समय देखि आफूसँग नाटक गरेको आरोप लगाएका थिए । उनले के नाटक गरेको भन्नेबारे भने केही पनि प्रष्ट खुलाउन सकेका छैनन् । 

यसबारे उपाध्यक्ष नेम्वाङले भने आफूमाथि लागेको आरोप निराधार भएको भन्दै खण्डन गरेका छन् । उनले यसको निष्पक्ष छानविनको माग पनि गरेका छन् । साथै प्रशिक्षक अब्दुल्लाहले पनि छानविन हुनुपर्ने माग गरेका छन् ।

यसपछि भने अब्दुलला राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी भएका छैनन् । उनले राजीनामा भने बुझाएका छैनन् ।

नेपाल हाल साफ च्याम्पियनसिपको तयारीमा छ । हिजो बसेको बैठकले साफ आयोजनाका लागि कुल दश करोड खर्च लाग्ने विवरण सहित प्रस्ताव पठाउने निर्णय पनि गरेको छ । दक्षिण एशियाली महासंघ साफले गत साता नेपाललाई प्रतियोगिता आयोजना गर्न औपचारिक प्रस्ताव गरेको थियो । साफका लागि नेपाल सरकारले एन्फालाई ५ करोड दिने निर्णय गरिसकेको छ । साफ अक्टोबरमा गर्ने तालिका छ । आयोजक राष्ट्र बारेको अन्तिम निर्णय साफको कार्यसमिति बैठकले गर्नेछ ।

यस्तै स्एएफसी महिला एशियन कपको छनोट अघि नेपालले इरान अथवा अन्य कुनै राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने पनि उल्लेख गरिएको छ । नेपालले सेम्टेम्बरमा घरेलु मैदानमा हङकङ । फिलिपिन्ससँग छनोट खेल  खेल्दछ । पुरुष टिमले पनि साफ अघि बंगलादेश, भारत तथा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि एन्फाले प्रस्ताव गरेको छ । 

ताजा खबर