खेलाडीलाई मानसिक स्वास्थ्य समस्या:  इङल्यान्डका बेन स्टोक्सले आफू पीडित भएको खलाउँदै विश्राम लिए

२०७८ श्रावण १६ शनिबार ११:२४:०० मा प्रकाशित

काठमाडौं । मानसिक स्वास्थ्यको सुरक्षाका लागि भन्दै खेलबाट विश्राम लिने खेलाडीको संख्या बढ्दै गएको छ । पछिल्लो पटक इङल्यान्डका अलराउन्डर बेन स्टोक्सले अनिश्चित समयसम्मका लागि सवै फरम्याटको क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् । घोषणासँगै स्टोक्सले भारत विरुद्धको पाँच खेलको टेस्ट सिरिजबाट पनि आफ्नो नाम फिर्ता लिए । उनलाई क्रेग ओभरटनले प्रतिस्थापन गर्नेछन् ।  

इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र हातको आंैलामा लागेको चोटका करण विश्राम गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । बोर्डका प्रवन्ध निर्र्देशक आस्ले गिल्सले खेलाडीको मानसिक स्वास्थ्य र खुशी आफुहरुको पनि पहिलो प्राथमिकता भएको उल्लेख गरे । बेन स्टोक्सले ठूलो साहसका साथ मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा राखेको निर्देशक गिल्सले बताए । आफ्ना खेलाडीले शान्त र स्वस्थ वातावरणमा तयारी र प्रतिस्पर्धा गरुन् भन्ने चाहेपनि महामारीले सोचे जस्तो नभएको उनको भनाइ थियो ।

विषेशगरी अहिले कोभिडका कारण लामो समय परिवारबाट टाढा, कडा स्वास्थ्य मापदण्डका कारण न्युन स्वतन्त्रता र चुनौतीपूर्ण वातावरणले खेलाडीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको जनाइएको छ । इङल्यान्डको ब्यस्त तालिकाका बीच स्टोक्सको यो निर्णय आएको हो ।

भारत विरुद्धको टेस्ट सिरिज आगामी बुधबारबाट सुरु हुँदैछ । अक्टोबर नोभेम्बरमा टि ट्वान्टी विश्वकप हुँदैछ । डिसेम्बरमा अस्ट्रेलिया विरुद्धको  एसेस सिरिज सुरु हुनेछ । गत वर्षको अगस्ट अक्टोबरमा पनि स्टोक्सले बुबा गेडको स्वास्थ्यको कारण विदा लिएका थिए । उनको बुबाको डिसेम्बरमा ब्रेन क्यान्सरका कारण निधन भएको थियो । गत अप्रिलमा इन्यिडयन प्रिमियर लिग आइपिएलमा राजस्थन रोयल्सबाट खेलेका स्टोक्सको औंलामा चोट लागेको थियो । यो महिनाको सुरुमा मात्र स्टोक्स राष्ट्रिय टिममा फर्किएका थिए । उनले पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजमा टिमको कप्तानी गर्दै उपाधी पनि दिलाए । स्टोक्सले इङल्यान्डका लागि ७१ टेस्ट, एक सय एक एकदिवसीय र ३४ टि ट्वान्टी खेलेका छन् । 

यसअघि ग्लोबल स्टार टेनिसकी नाओमी ओसाका र अमेरिकाकी जिम्यानिस्टक खेलाडी सिमोन बाइल्सले मानसिक स्वास्थ्यका कारण खेल छोडेका थिए ।

ताजा खबर