टोकियो ओलम्पिक: नेपालको हातमा शून्य पदक

२०७८ श्रावण १५ शुक्रबार ०९:२१:०० मा प्रकाशित

काठमाडौं । नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको प्रारमिभक चरणबाटै बाहिरिएकी छिन् । महिला एक सय मिटर दौडमा भाग लिएकी सरस्वतीले फितलो प्रदर्शन गरिन् ।

आज विहान भएको प्रतिस्पर्धामा सरस्वतीले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य रोखकी थिइन् । तर उनले ब्यक्तिगत प्रदर्शन समेत सुधार गर्न सकिनन् । सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पुरा गरिन् । उनी दौडिएको हिट दुइमा नौ खेलाडी सहभागी थिए । सरस्वती आठौं स्थानमा रहिन् । उनले साउदी अरेबियाकी यास्मिनलाई मात्र पछि पारिन् । सरस्वतीको ब्यक्तिगत उत्कृष्ट समय १२.५५ हो । उनले सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा बनाएकी थिइन् । महिला एक सय मिटर दौडको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२.२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । जुन अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

सरस्वतीले म्याराथनमा प्रतिस्पर्धा गर्ने पकका भएका गोपीचन्द्र पार्की अन्तिम समयमा जान नपाएपछि टोकियो ओलम्पिक जाने मौका पाएकी थिइन् । सरस्वतीको दौडसँगै जारी ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ । नेपालबाट चार खेलका पाँच खेलाडीले भाग लिएका थिए । पौडीका गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भटट्ले प्रतिस्पर्धा गरेका थिए । कुनैपनि खेलाडीले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । राष्ट्रिय कीर्तिमान सुधारनै ओलम्पिकमा नेपालले प्राप्त गरेको सफलता रह्यो । एक सय मिटर फ्रि स्टाइलमा भाग लिएका गौरिका र एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार गरे ।

महिला दश मिटर एयर राइफलमा सहभागिता जनाएकी कल्पनाले पनि राष्ट्रिय कीर्तिमान बनाइन् । ४८ केजी तौलमा भाग लिएकी सोनिया रुस ओलम्पिक कमिटीकी खेलाडीसँग पराजित भएकी थिइन् । 

ताजा खबर