तालिका संशोधन गरेर भएपनि असोजभित्र खोप लगाईसक्ने सरकारी तयारी

२०७८ श्रावण १४ बिहीबार १३:३५:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाईरस संक्रमण बढ्न नदिन सकेसम्म चाँडो खोप लगाउने व्यवस्थापन गर्न दुइ मन्त्रीले गृहकार्य थालेका छन् । यसका लागि अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठले खोप लगाउने तालिका नै संशोधन गरेर भएपनि चाँडोभन्दा चाँडो खोप लगाउने व्यस्था गर्न सहकार्य गर्ने भएको बुझिएको छ । उनीहरुले खोप तालिका संशोधन गर्ने गरी विज्ञहरुसँग छलफल गरेका छन् । दुइ मन्त्रीहरुवीच असोज महिनाभित्र खोप लगाईसक्ने गरी अघि बढ्न सहमति भएको थाहा भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री शर्माले स्वास्थ्य राज्यन्त्री श्रेष्ठलाई तालिक संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक भएको भनी गृहकार्य गर्न सल्लाह दिएका छन् । जुन देशबाट खोप खरिद गर्न सकिन्छ, ती देशसँग वार्ता गरी चाँडोभन्दा चाँडो खोप खरिद गर्न प्रक्रिया अघि बढाउन शर्माले सल्लाह दिएको बुझिएको छ । उनले खोप खरिदका लागि बजेटको कमी हुन नदिने विश्वास पनि विश्वास दिलाएका थिए ।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले विकास निर्माणका लागि विनियोजित बजेटसमेत रकमान्तर गरेरै खोप खरिदमा लगाउन तयार हुनुपर्ने बताएका थिए । प्राप्त खोपसमेत लक्षित समुदायलाई लगाइदिन ढिलाइ भइरहेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि सबै व्यवस्था मिलाइसकिएको बताए। उनले आवश्यक परेको खण्डमा आपूर्ति तालिका संशोधन गरिने बताए। प्राप्त खोप लगाउन कार्ययोजना बनाइसकिएकाले अब योजनाबद्ध रुपले खोप कार्यक्रमले गति लिने उनको भनाइ थियो।

ताजा खबर