कोरोना असरसँगै अध्यधिक तापक्रमले ओलम्पिकका खेलाडी विचलित

२०७८ श्रावण १४ बिहीबार ११:३६:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बीच भइरहेको टोकियो ओलम्पिकमा खेलाडीले उच्च तापक्रम र आद्रताको पनि सामना गर्नु परेको छ ।

अत्यधिक गर्मी भएपछि विश्व टेनिस महासंघले खेल तालिका परिर्वतन गरेको छ । स्थानीय समय अनुसार विहान एघार बजे तय भएका खेल अब दिउँसो तीन बजे बाट सुरु हुनेछ । रुस ओलम्पिक कमिटीका डेनिल मेतभेदेभले तेस्रो चरणको खेलमा निकै असहज महसुस गरेको प्रतिक्रिया दिए । इटालियन फाबियो फोनिनि विरुद्धको खेलमा विश्व नम्बर दुइ मेतभेदेभले मेडिकल टाइम आउट लिनुका साथै दुइ पटक ट्रेनरलाई बोलाएका थिए । उनले चेयर अम्पयारसँग खेल पूरा गर्ने तर आफ्नो मृत्यु भए को जिम्मेवार हुने भन्दै प्रश्न समेत गरेका थिए । 

टोकियो आए लगत्तै विश्व नम्बर एक नोभाक जोकोभिचले खेल हुने समय परिवर्तन गर्न सुझाव दिएका थिए । महिला एकल तर्फ स्पेनकी पाउलो बाडोसा उच्च तापक्रमका कारण हिटस्ट्रोक भएपछि खेल त्याग्न बाध्य भएकी थिइन् । उनी ह्विलचयरमा बसेर कोर्ट बाहिरिन् । टेनिस र अरु आउट डोर खेलका खेलाडी उच्च तापक्रमको मारमा परेका छन् । रोड रेस, स्टेकबोर्डिङ लगायतका खेलाडी गर्मी र आद्रताका कारण प्रदर्शनमा असर परिरहेको बताएका छन । खेलाडीलाई घामको समयमा अभ्यास नगर्न सुझाव दिइएको छ । यस्तै कडा किसिमको ब्यायाममा पनि कमी गर्न भनिएको छ । आइस ब्याग र चिसो हावाले पनि राहत नमिलेको खेलाडीले बताए ।

अहिले टोकियोको तापक्रम दैनिक ३३ डिग्री भन्दा माथि रहेको छ । यसअघि सन् १९६४ मा भएको टोकियो ओलम्पिक अक्टोबरमा गरिएको थियो । तर यस पटक टेलिभिजनका दर्शकलाई ध्यानमा राखेर जुलाइ अगस्टमा गरिएको हो । यो ओलम्पिक संभवत अहिलेसम्मकै सवैभन्दा गर्मी समयमा भएको प्रतियोगिताका रुपमा पनि ब्याख्या गर्न थालिएको छ । 

ताजा खबर