महामारीको सुरक्षा चिन्ता: सातै प्रदेशमा हजारको संख्यामा अक्सिजन भरेर राख्न निर्देशन

२०७८ श्रावण १२ मंगलबार ११:४४:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाईरसको संक्रमण दिनदिनै बढ्दै गएकाले स्वास्थ्य संकट आउन नदिन सबै प्रदेशमा अक्सिजन सुरक्षित राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरको संख्यमा अक्सिजन सिलिण्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने जनाउँदै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायले बताए ।

'जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञा गर्दा पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिँदैन। विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन',उनले भने,'भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ।'

मन्त्रालयले प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको हो।

साथै मन्त्रालयले सिलिण्डर पनि खाली नराख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क, अक्सिजन कन्सट्रेटर पनि चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ।

ताजा खबर