जापानकी १३ वर्षकी खेलाडीले जितिन् ओलम्पिक स्वर्ण पदक

२०७८ श्रावण ११ सोमबार १७:०६:०० मा प्रकाशित

टोकियो । टोकियो ओलम्पिकमा १३ वर्षिया स्कुले विद्यार्थीले स्वर्ण पदक जितेकी छिन् । जापानकी मोमीजी निसिहा स्केटबोर्डिङमा स्वर्ण प्राप्त गरेकी हुन् । उनले महिला स्ट्रिट विधामा स्वर्ण हात पारेकी हुन् । 

रजत जितेकी ब्राजिलकी रेस्सा लिल १३ र कास्य जितेकी जापानकै फुना नाकायामा १६ वर्षकी हुन् । ओलम्पिक इतिहासमा पदकको पोडियममा देखिएको यो अहिलेसम्मकै कम उमेरकी खेलाडी हुन् । उनीहरुको औसत उमेर १४ वर्ष १ सय ९१ दिन हो । निसिहा जापानका लागि स्वर्ण जित्ने सवैभन्दा कान्छी खेलाडी हुन् । फाइनल राउन्डमा उत्कृष्ट प्रदर्शन गरेकी निसिहाले १५.२६ स्कोर गरिन् । लिलले १४.६४ अंक बनाएकी थिइन् । 

यदि १३ वर्ष २ सय ३ दिनकी लिलले स्वर्ण जितेकी भए उनले सवैभन्दा कान्छी ओलम्पिक च्याम्पियनको कीर्तिमान बनाउने थिइन् । यो कीर्तिमान अमेरिकाकी मारजोरी गेस्टरिङको नाममा छ । उनले सन् १९३६ को वर्लिन ओलम्पिकमा स्प्रिङबोर्डमा १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् । जारी ओलम्पिकमा आयोजक जापानले स्केटबोर्डको स्ट्रिट इभेन्टमा क्लिन स्विप गरेको छ । पुरुष तर्फ युतो होरिगोमले स्वर्ण जितेका थिए । स्केटबोर्ड टोकियो ओलिम्पक मार्फत डेब्यु भएका पाँच खेल मध्ये एक हो । 

ताजा खबर