प्रिसिजन मैत्रीपूर्ण खेलमा रियाल मड्रिड पराजीत

२०७८ श्रावण ११ सोमबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस जाइन्ट रियाल मड्रिड पराजित भएको छ । स्कटिकस क्लब रेन्जर्सले दश खेलाडीमा समेटिएको रियाललाई दुइ एक गोलले पराजित गरेको हो । ग्लास्गोस्थित आइब्रोक्स स्टेडियममा सुरुवाती अग्रता लिएपनि रियालले जोगाउन सकेन । खेल सुरु भएको आठौं मिनेटमै रियालले रोद्रिगोको गोल मार्फत अग्रता लिएको थियो ।

पहिलो हाफमा पछि परेको रेन्जर्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ५५ औं मिनेटमा फासिअन साकालाले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याएका थिए । ७५ औं मिनेटमा नाचो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियाल दश खेलाडीमा झर्यो । त्यसको  दुइ मिनेट पछि रेन्जर्सले खेलमा अग्रता बनायो । उसका लागि ७७ औं मिनेटमा  सेड्रिक जिटेनले गोल गरे । यहि गोल स्टेभन जेरार्डको टोली रेन्जर्सको जीतमा निर्णायक बन्यो ।

रियाल अधिकांश युवा खेलाडीका साथ मैदान उत्रिएको थियो । पहिलो रोजाइका खेलाडी विदामै छन् । रियालमा पुन फर्किएपछिको प्रशिक्षक कार्लो एन्सेलोटीको यो पहिलो खेल हो । रियालले अब अगस्ट ८ मा इटालियन क्लब एसी मिलानसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । स्पेनिस लिग ला लिगाको नयाँ सिजन १४ अगस्ट बाट सुरु हुनेछ । रियालले आफ्नो पहिलो खेल १५ अगस्टमाभ आलाभेससँग खेल्नेछ । 

ताजा खबर