मिस वर्ल्डको पहिलो रोजाई आमिर खान 

२०७४ मङ्सिर १३ बुधबार १७:०२:०० मा प्रकाशित

मुम्बई । मिस वर्ल्ड २०१७ की भारतीय सुन्दरी मानुषी छिल्लरले आफुलाई  आमिर खानसँग फिल्म खेल्ने चाहना भएको बताएकी छिन् । शनिबार जन्मघर फर्किएकी २० वर्षीया सुन्दरीले एउटा पत्रकार सम्मलेनमा अहिले बलिउड प्रवेश गर्ने कुनै योजना नरहे पनि बलिउडमा प्रवेश भइहाल्यो भने पहिलो रोजाई आमिर खान नै हुने बताइन ।

आफुलाई पूर्व मिस वर्ल्ड प्रिंयका चोपडा र आमिर खान एकदमै मन पर्ने कलाकार भएको पनि उनको भनाई छ ।

हरियाणाकी मेडिकल विद्यार्थी मानुषीको भनाइलाई उद्धृत गर्दै एक भारतीय संचार माध्यमले लेखेको छ , ‘अहिलेको मेरो बलिउड प्रवेशको कुनै योजना छैन, ’ ।  म आफ्नो कार्यकालमा रजस्वला र सरसफाइसम्बन्धी मेडिकल तालिम र क्याम्पेन चलाउने योजनामा छु । ‘सेनेटरी प्याड हरेक महिलाको लागि आवश्यक कुरा हो,’ उनले भनेकी छन्, ‘त्यसैले यो कम मूल्यमै उपलब्ध हुनुपर्छ । महिलाहरूका लागि सुरक्षित र सहज रूपमै रजस्वला सरसफाइ व्यवस्थापनको पहुँच हुनुपर्छ ।’

उनले आफुलाई आमिर खानसँग बलिउडमा अभिनय गर्न रुची भएपनि खेल्ने नखेल्ने प्रतिक्षाको विषय रहेको बताएकी छिन् । तर मानुषीको बलिउड प्रवेशको योजना नै नभएको भने होइन ।  ‘म आमिर खानको फिल्ममा काम गर्न चाहन्छु , किनकि उहाँसँग एकदमै चुनौतीपूर्ण रोलहरू छन्,’ उनले भनेकी छिन्, ‘उहाँको फिल्ममा समाजसँग जोडिएको सन्देश हुन्छ । त्यसैले उहाँसँग काम गर्न म उत्सुक छु ।’ एजेन्सी 

 


 

ताजा खबर