टोकियो ओलम्पिकमा नेपाली खेलाडी पराजित

२०७८ श्रावण ९ शनिबार १२:४०:०० मा प्रकाशित

काठमाडौं । नेपालका कल्पना परियार र सोनिया भट्ट टोकियो ओलम्पिकको आफ्नो पहिलो खेलमै पराजित भएका छन् । सुटिङको महिला दश मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएपनि फाइनल चरण पुग्न सकिनन् । जुडोकी सोनियाको चुनौती पनि राउन्ड अफ ३२ मा नै समाप्त भयो ।

आज विहान भएको खेलमा कल्पनाले ६ सय १६.८ स्कोर गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । सन् २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा उनले ६ सय १४ंं. ५  स्कोरको  राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्् । टोकियो ओलम्पिकमा कल्पनाले राष्ट्रिय कीर्तिमान सुधारको लक्ष्य राखेकी थिइन् । जसमा उनी सफल भइन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४  र तेस्रोमा १०१.१ स्कोर बनाएकी थिइन् । चौथोमा १०४.१, पाँचौमा १०३.४ स्कोर गरेकी कल्पनाले अन्तिममा भने फितलो प्रदर्शन गरेकी थिइन् ।

शीर्ष आठमा रहने खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए । कल्पना ५० जना सहभागी मध्ये समग्रमा ४६ औं स्थानमा रहिन् । नेपाल भन्दा पछाडि बोस्निया, श्रीलङका, शरणार्थी टिम र किर्गिस्तान रह्यो ।

जुडोकी सोनियाले ४८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी रुसकी इरिना डोल्गोभासँग हरोकी हुन् । इरिनाले इप्पोन जोड्दै सोनियालाई पराजित गरिन् । १९ वर्षिया सोनिया मात्र एक मिनेट १६ सेकेन्ड टिकेकी थिइन् । टोकियो ओलम्पिकमा सोनियाले एक बाउट जित्ने लक्ष्य राखेकी थिइन् । तर वलियो प्रतिद्धन्दी इरिनाको चुनौती सामना गर्न सकिनन् । 

नेपालका पाँच खेलाडीले सहभागिता जनाएको टोकियोमा दुइ खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी छ ।

 

ताजा खबर