कोक कथाः नेपालले पाउने अर्बौं रुपैंयाँ कर लुकाउने दाउ

२०७८ श्रावण ८ शुक्रबार १४:४९:०० मा प्रकाशित

काठमाडौं । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले छानबिन थालेको हो । 

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ‘७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छल्न खोजिएको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘यसबारे उजुरी परेपछि हामीले अनुसन्धान गरिरहेका छौं । अफसोर कारोबार भएका कारण प्रमाण जुटाई मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउन कठिन परिरहेको छ ।’

यो सम्भावित कर छलीबारे आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले सुरुमा न्युज कारोबार अनलाइनमा खुलासा गरेका थिए । बुढाथोकीलाई बोटलर्स नेपाल व्यवस्थापनले धम्कीसमेत दिएको घटना सार्वजनिक भएको छ । ‘फलोअपसहित समाचार लेखेपछि बुढाथोकीको नाम नै तोकेर तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराएको’ भन्दै नेपाल पत्रकार महासंघले गत साउन २ मा प्रेस विज्ञप्ति जारी गरी भर्त्सनासमेत गरेको थियो ।

सार्वजनिक विवरण तथा विभागसम्बद्ध स्रोतले जनाएअनुसार विदेशमा एक कम्पनी खडा गरी त्यसको खरिदबिक्री उतै गर्ने र नेपालमा पुँजीगत लाभकर नतिर्ने उद्देश्य राखेको देखिन्छ । त्यसका लागि सिंगापुर, दुबई तथा अन्य देशमा विभिन्न तहमा कम्पनी खडा गरी खरिदबिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको विभाग स्रोत बताउँछ, जुन खरिदबिक्रीबारे यहाँको उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकलगायत निकायलाई जानकारी दिइएको छैन । ‘अनौपचारिक कागजातहरूका आधारमा सन् २०१४ मा नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनी कोकाकोला साब्को (एसिया) लिमिटेड दुबईमा बिक्री भएको देखिन्छ,’ राजस्व अनुसन्धान विभागसम्बद्ध स्रोत भन्छ, ‘त्यो कम्पनीले नेपाली स्रोतको प्रयोग गरी लाभ आर्जन गरेको र कानुनअनुसार त्यस्तो लाभमा कर तिर्नुपर्ने हुन्छ । तर उसले यहाँका सरकारी निकायमा कुनै जानकारी नै नदिई कर छली गर्न खोजेको देखिन्छ ।’

बहुराष्ट्रिय कम्पनीहरूले विदेशमै यसरी कारोबार गरी कल छल्ने प्रयास गरे पनि नेपालमा कर तिर्नुपर्ने नजिर स्थापना भइसकेको छ । त्यसको एउटा उदाहरण अघिल्लो पटक बोटलर्स नेपाल लिमिटेडकै अफसोर कारोबार हो । सन् २००४ मा बोटलर्स नेपालको ७६ प्रतिशत सेयर विदेशमै बिक्री हुँदा आन्तरिक राजस्व विभागले छानबिन गरी कर निर्धारण गरेको थियो । ‘त्यतिबेला पनि अहिलेकै जस्तो यहाँका सरकारी निकायलाई कुनै जानकारी नदिई सेयर बिक्री गरेकामा त्यसमाथि छानबिन गरी ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँ कर निर्धारण गरिएको रहेछ,’ विभाग स्रोत भन्छ ।

कर निर्धारण भए पनि लामो समय बोटलर्स नेपालले कर दाखिला भने गरेन । त्यो बक्यौता करसमेत २०७१ मा गठन भएको विवादास्पद कर फर्छ्योट आयोगले मिनाहा गरिदिएको थियो । आयोगको विवरणअनुसार बोटलर्स नेपाललाई २३ करोड रुपैयाँ कर दाखिला गर्न लगाई साढे ४३ करोड रुपैयाँ कर छुट दिइएको थियो । ‘आयोगले छुट दिए पनि कर निर्धारण हुनुको अर्थ बाहिर कारोबार गरे पनि यहाँ रहेको कम्पनीलाई हाम्रो कानुनअनुसार पुँजीगत लाभकर तिराउन सकिन्छ भन्ने हो,’ विभाग स्रोत भन्छ, ‘पछिल्लो कारोबारका विषयमा पनि थप अध्ययन गरेर कर निर्धारण गर्ने दायित्व आन्तरिक राजस्व विभागको हो, जसबारे उसले चासो नै दिएको छैन । हामीले अनुसन्धान गरेर मुद्दा दायर गर्ने हो, जसको प्रमाण जुटाउन समय लाग्ने देखिएको छ ।’

यस्तो कारोबारमा यहाँको कम्पनीलाई उत्तरदायी बनाएर कर निर्धारण गर्न सकिन्छ भन्ने अर्को उदाहरण दूरसञ्चार कम्पनी एनसेलको १२ औ पटकको बिक्री प्रकरण हो । एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको विदेशस्थित रेनोल्ड होल्डिङ्स कम्पनी हिस्सेदार टेलियासोनेराले मलेसियाको कम्पनी आजियाटालाई बिक्री गरेको थियो । त्यसमाथि कर लाग्छ वा लाग्दैन भन्ने लामो समयको बहसपछि यसको निरूपण सर्वोच्च अदालतले गरिदिइसकेको छ । अदालतको फैसलाबमोजिम एनसेलले उक्त बिक्रीमा करिब ४६ अर्ब रुपैयाँ कर बुझाइसकेको छ ।

कोकाकोला उत्पादकसँग अन्तरसम्बद्ध कम्पनी विदेशमा बिक्री भई त्यसमा कर लगाउन सक्ने नजिर भए पनि यहाँका राजस्वबाहेक अन्य सरकारी निकायले भने मौनता साँधेका छन् । यसपटक कति रकममा कम्पनी बिक्री भएको भन्ने विवरण नभेटिए पनि कर छलीको अंक एक अर्ब रुपैयाँभन्दा बढी नै हुने अनुमान छ । ‘किनभने सन् २००४ मा बिक्री हुँदा करिब साढे ६६ करोड रुपैयाँ कर छली गर्न खोजेको रहेछ,’ विभागका ती अधिकारीले भने, ‘यकिन विवरण त छैन । तर पनि १० वर्षमा यो कम्पनीको मूल्य दोब्बर भएको सहजै अनुमान गर्न सकिन्छ । त्यस आधारमा पनि कम्तीमा एक अर्ब रुपैयाँ कर छलीको प्रारम्भिक आशंका गर्न सकिन्छ ।’

यसबारे बोटलर्स नेपालले प्रिज्मा एडभरटाइजिङमार्फत प्रतिक्रिया उपलब्ध गराउँदै देशका सम्पूर्ण नियम, कानुनको आफूले सम्मान र पालना गर्दै आएको जनाएको छ । ‘कम्पनीको उच्च मापदण्डका साथसाथै हामी सबै कार्यक्रम र प्रक्रियालाई कडाइका साथ अनुपालन गर्दछौं, जसले कुनै पनि विचलन वा नन–कन्फर्मिटीमा शून्य सहनशीलता सुनिश्चित गर्दछ,’ उसको प्रतिक्रिया छ, ‘हामी यस मुद्दाको थप विवरणहरूको पर्खाइमा छौं र जारी अनुसन्धानमा सम्बन्धित निकायसँग सहकार्य गर्न प्रतिबद्ध छौं ।’

बोटलर्स नेपालको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) पनि हो, जसमा बोटलर्स नेपालको ९१ प्रतिशत सेयर छ । बाँकी ९ प्रतिशत सेयर सर्वसाधारणको छ । सन् १९७३ मा स्थापित बोटलर्स नेपालले बालाजु औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी ४१ वर्षदेखि नेपाली बजारमा कोकाकोला र अन्य उत्पादनको कारोबार गरिरहेको छ । १९८७ मा अर्को कम्पनी बोटलर्स नेपाल (तराई) खडा गरी भरतपुरबाट पनि उत्पादन थालिएको थियो । आजको इकान्तिपुरमा समाचार छ– अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको मुख्यालय एटलान्टामा छ ।

यस्तो अन्तरकथा

पत्रकार गजेन्द्र बुढाथोकीले लामो अनुसन्धानपछि तयार पारेका यससम्बन्धी समाचार उनको व्लगमा पोष्ट गरिएको छ । उनको अनुमतिमा समाचारको विस्तृत विवरण यहाँ समावेश गरिएको छ ।
कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान-
 
राजस्व अनुसन्धान विभागले कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको छ । लामो समयदेखि बोटलर्स नेपालको वित्तीय कारोबारमाथि निगरानी राख्दै आएको विभागले मंसिर २३ गते १ बजे कम्पनीमा छापा मारी दस्तावेजहरू नियन्त्रणमा लिएको हो ।

बोटलर्स नेपालको सेयर स्वामित्व गुपचुप बेचेर नेपाल सरकारलाई तिर्नुपर्ने करोडौँ रूपैयाँबराबरको राजस्व छली गरेको अभियोगमा विभागले छानबिन सुरु गरेको हो ।

‘बोटलर्सको सेयर किनबेचमा ठूलै चलखेल भएको पाएका छौं, लामो अनुसन्धानपछि कम्पनीमा छापा मारेर लेखासम्बन्धी दस्तावेजहरू, कम्प्युटरलगायतका उपकरण नियन्त्रणमा लिइएको हो,’ विभागका एक अधिकारीले न्युज कारोबारसँग भने ।

स्रोतका अनुसार बोटलर्स नेपाल लिमिटेडको मूल स्वामित्व धारक दुबईस्थित कोकाकोला साउथ वेस्ट एसिया होल्डिङ्गसमार्फत स्वामित्व किनबेच भए पनि नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी राजस्व छलेको अभियोगमा छानबिन सुरु गरिएको हो ।

‘बोटलर्सका सेयर किनबेच प्रकरणमा एनसेलको भन्दा फरक र चलाख्याइपूर्ण तरिकाले स्वामित्व हस्तान्तरण भएको देखिन्छ,’ स्रोत भन्छ, ‘नेपालको सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी ९साप्को०ले द कोकाकोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई सन् २०१४ मा नै बेचेको भए पनि स्वामित्व हस्तान्तरणबारे नेपालका सरकारी निकायलाई कुनै जानकारी नै दिइएन ।’

विभाग स्रोतका अनुसार यो सेयर किनबेच प्रकरणमा १ अर्ब रूपैयाँका हाराहारीमा राजस्व छली भएको प्रारम्भिक अनुमान छ ।‘ सेयर कतिमा किनबेच गरियो र मूल स्वामित्व हेरफेर कसरी गरियो भन्ने यहाँ ९नेपाल०मा दस्तावेज नै नराखेको वा लुकाएको पाइयो, यसबारे हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।

पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता रहेको बोटलर्स नेपाल अन्तर्गत अहिले नेपालमा तीन वटा कम्पनी बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि दर्ता भइ कारोबार गर्दै आएका छन् । बोटलर्स नेपालको वार्षिक प्रतिवेदनअनुसार यसको अधिकृत पुँजी ४३ करोड र चुक्ता पुँजी १९ करोड ४८ लाख रूपैयाँबराबरमात्र छ ।

कम्पनीले नेपालका ७६.१७ प्रतिशत स्वामित्व कोकाकोला साउथ वेस्ट होल्डिङ्स लिमिटेडको, २२ प्रतिशत सेयर खेतान ग्रुपअन्तर्गत गोर्खा ब्रुअरीको र १.९८ प्रतिशत सेयर सर्वसाधारणको देखाउने गरेको छ । सेयर स्वामित्व हेरफेरपछि विगत ६ वर्षदेखि कम्पनीको व्यवस्थापन भारतीय व्यवस्थापकहरूले हेर्दै आएका छन् । भारतीय व्यवस्थापकले कारोबारको मूल दस्तावेज नै लुकाएर नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेपछि यसका अनुसन्धान सुरु गरिएको हो ।

यसले आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ७३ करोड ५० लाख रूपैयाँबराबरको कारोबार गरी ३ अर्ब रूपैयाँ नाफा कमाएको थियो । सेयर स्वामित्व किनबेच भएको वर्ष सन् २०१४ मा स्टक एक्सचेन्जमा औसत १६६० रूपैयाँमा प्रतिसेयर कारोबार भएको थियो । बजार मूल्यका आधारमा भन्दा पनि कारोबार रकम ९कम्पनीको कुल बिक्री तथा नाफा संरचना०का आधारमा स्वामित्व किनबेच भएको विभागको अनुसन्धानले देखाएको छ ।

कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको नेपाल स्वामित्व किनबेचसँगै यसका सहायक कम्पनीमध्ये ट्रोयका ट्रेडर्स प्रालिको सेयर स्वामित्वमा समेत चलखेल भएको पाइएको छ ।

नेपालमा दर्ता भएका उद्योगले व्यापारिक कारोबार गर्न नपाउने कानुनी प्रावधानअनुसार क्यानमा भएका कोकाकोला उत्पादन, माजा, मिनटसहितका अन्य इनर्जी ड्रिंकहरूको कारोबार गर्न आव २०४९/५० मा बोटलर्स नेपाल लि।को सहायक कम्पनीको रूपमा ट्रोयका ट्रेडर्स प्रालि दर्ता गरिएको थियो ।

यो कम्पनीले भारत, भुटान, सिंगापुरलगायतका देशबाट नेपालमा उत्पादन नहुने कोकाकोला समूहका उत्पादनहरू आयात गरेर नेपालमा बोटलर्स नेपाल र त्यसको सह-प्रतिष्ठान बोटलर्स तराई लिमिटेडको संरचनाअन्तर्गत बिक्री-वितरण गर्दै आएको थियो ।

सन् २०१४ मा कोकाकोलाको मूल स्वामित्व धारक कोकाकोला साप्को इस्ट अफ्रिकाले बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टा (अमेरिका) लाई बिक्री गरेपछि नेपालको व्यवस्थापनमा हेरफेर भएसँगै सहायक कम्पनीको स्वामित्वमा पनि हेरफेर गरिएको हो ।

२०७५ साल (सन् २०१८) मा सत प्रतिशत बोटलर्स नेपालको नाममा रहेको ट्रोयका नेपाल प्रालिको सेयर भारतीय नागरिकहरू सुमित गोयल र रजनीस शर्माका नाममा नामसारी गर्ने प्रक्रिया अगाडि सारेपछि वाणिज्य विभागले रोकेको थियो ।

‘एउटा पब्लिक लिमिटेड कम्पनी, जसमा सर्वसाधारणको सेयर पनि छ, त्यस्तो कम्पनीको सेयर सतप्रतिशत विदेशी नागरिकका नाममा नामसारी गर्ने निर्णय गरेर पत्र आएपछि विभागले तत्कालै त्यो निर्णय कार्यान्वयन नगर्ने निर्देशन दिएको हो,’ वाणिज्य विभागका एक वरिष्ठ अधिकारीले भने ।

अहिले बोटलर्सका सेयर किनबेच प्रकरणमा राजस्व अनुसन्धान विभागले उच्चस्तरको छानबिन गरिरहेकाले विस्तृत विवरण दिन र नाम खुलाउन भने ती अधिकारी मानेनन् । झन्डै १६ देखि १७ अर्ब रूपैयाँबराबरको मूल्यांकनमा दुबईस्थित कोकाकोला साप्कोले बोटलर्स नेपालको बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टालाई सेयर बिक्री गर्दा नेपालले पाउनु पर्ने डेढ अर्ब रूपैयाँभन्दा बढीको पुँजीगत लाभकर छलिएको अभियोगमा अहिले अनुसन्धान थालिएको हो ।

यसअघि सन् २००४ मा पनि अमेरिकी कोकाकोला कम्पनीले नेपालसहित भियतनाम, कम्बोडिया, श्रीलंकाको सेयर स्वामित्व कुल २ करोड ९० लाख अमेरिकी डलरमा बिक्री गरेको थियो । त्यसबेला पनि कोकाकोला साब्कोको नेपाल हेर्ने व्यवस्थापकले नेपाललाई तिर्नुपर्ने लाभकर तिरेका थिएनन भने पछि चुडामणि शर्माको संयोजकत्वमा बनाइएको उच्चस्तरीय कर फर्छ्योट आयोगबाट माफी मिन्हा गराउन सफल भएका थिए ।

बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयका नेपालको स्वामित्वधारी भएर मूल बिक्री कारोबारमा हस्तक्षेप गर्ने कोकाकोलाका तत्कालीन वित्त निर्देशक (फाइन्सियल डाइरेक्टर) सुमित गोयल र रजनीश शर्माका नाममा सेयर हस्तान्तरण हुन नसकेपछि ०७५ सालमै अशोक मण्डल र प्रतिमा बर्माका नाममा १००/१०० कित्ता सेयर भएको देखाइ उनीहरूलाई कम्पनीको सञ्चालक बनाइएको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डबाट देखिएको छ । नेपाली नागरिकहरू अशोक मण्डल र प्रतिमा बर्मा दुवै बोटलर्स नेपालका सामान्य कर्मचारी हुन् ।

सेयर स्वामित्व हस्तान्तरणमा विवाद उठेपछि र वाणिज्य विभागले शंकास्पद सेयर हस्तान्तरण देखिइ कारोबार अनुमतिका लागि स्वीकृति नदिएपछि विगत दुई वर्षदेखि बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयकाको नवीकरण रोकिएको छ भने यसले गर्ने आयात र स्थानीय थोक बिक्रीको कारोबार पनि ठप्प भएको छ ।

सहायक कम्पनी ट्रोयका ट्रेडर्समार्फत कोकाकोलाका क्यानमा हुने उत्पादन, इनर्जी ड्रिंक र अन्य उत्पादन अहिले तेस्रो पक्षमार्फत आयात गरेर कारोबार भइरहेको कम्पनी स्रोतले जानकारी दियो । बोटलर्स नेपालको वार्षिक प्रतिवेदनअनुसार ट्रोयका ट्रेडर्समार्फत वार्षिक औसत ३५ करोड रूपैयाँबराबरको कारोबार हुँदै आएको थियो ।

नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक

कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी, बोटलर्स नेपाल लिमिटेडका व्यवस्थापकले कम्पनीको सेयर तथा कारोबारसम्बन्धि सरकारी छानबिनमा नेपाली कर्मचारीलाई ‘गोटी (मोहरा)’ बनाएर आफू पछाडि उभिने रणनीति अख्तियार गरेका छन् ।

केही वर्षअघि नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा केही कम्पनीले अपनाएको ‘भरियालाई मालिक देखाउने’ शैली बोटलर्स नेपालका व्यवस्थापकहरूले अवलम्बन गरेका हुन् । ती कम्पनी सञ्चालकहरूले भरियालगायत सामान्य मानिसका नाममा कम्पनी दर्ता गरेर करोडौँ रूपैयाँबराबरको भ्याट अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो ।

बोटलर्स नेपालको ७६ प्रतिशत सेयर दुबईस्थित कोकाकोला साब्को प्रालिले बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टा (अमेरिका) लाई बिक्री गर्दा नेपाललाई तिर्नुपर्ने अर्बौँ रुपैयाँको पुँजीगत लाभकर नतिरेको विषयमा अहिले राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । यो प्रकरणमा पनि कोकाकोला कम्पनीका आधिकारिक प्रतिनिधि र उनीहरूका तर्फबाट नियुक्त भारतीय व्यवस्थापक, प्रबन्धनिर्देशक पुनीत बार्सेनीसहितका अधिकारीहरू आफू कानुनी वा अधिकारप्राप्त सरकारी निकायमा सामुन्ने देखा नपरी नेपाली कर्मचारीलाई ढालका रूपमा अगाडि सारिरहेका छन् ।

सन् २००४ र २०१४ मा गरी दुई पटकसम्म बोटलर्स नेपाल लिमिटेडको मुख्य सेयर नेपालबाहिर नै किनबेच गरिएको छ । पछिल्लो पटक करिब १६ देखि १७ अर्ब रूपैयाँबराबरमा नेपालको स्वामित्व किनबेच गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत मंगलबार (मंसिर २३) गते अपराह्न विभागले बोटलर्स नेपाल लिमिटेडको बालाजुस्थित कार्यालयमा छापामा मारेर महत्वपूर्ण दस्तावेजहरू, कम्प्युटर, ल्यापटपसहितका उपकरण कब्जामा लिएको थियो ।

विभागले दस्तावेज र विद्युतीय उपकरणहरू कब्जामा लिएपछि अनुसन्धान र बयानका लागि बोलाउँदा बोटलर्स नेपालको उच्च व्यवस्थापनमा रहेका भारतीय व्यवस्थापकहरू नगइ नेपाली कर्मचारीहरू अशोक मण्डल र प्रतिमा बर्मालाई पठाउने गरेका छन् ।

स्मरणीय छ, दुवै कर्मचारीका नाममा बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी ट्रोयका ट्रेडर्सको स्वामित्व चलखेल गरेर नामसारी गरिएपछि वाणिज्य विभागले त्यसका व्यापारिक कारोबार अनुमति नै स्थगनमा राखेको छ ।

बर्मा अहिले बोटलर्स नेपालको कम्पनी सचिव छिन् । कानुनी सल्लाहकारका रूपमा रहेकी बर्माका नाममा बोटलर्सले कसरी स्वामित्व सेयर हस्तान्तरण गर्‍यो भन्ने विषयमा समेत वाणिज्य विभागले प्रश्न उठाएको छ ।

बोटलर्स नेपाल पब्लिक लिमिटेड कम्पनी भएकाले यसका सहायक कम्पनीको सेयर हकभोक हस्तान्तरण पनि साधारण सभाबाट पारित हुनुपर्ने हुन्छ, तर यो प्रक्रिया नै पूरा नगरी अर्थात सर्वसाधारण सेयरधनीलाई थाहै नदिइ मण्डल र बर्माको नाममा पास गरिएको कम्पनी रजिष्ट्रारको रेकर्डबाट देखिएको छ ।

राजस्व अनुसन्धान विभागले गत शुक्रबार (मंसिर २६) गतेबाट बयान लिन थालेकोमा बोटलर्सका उच्च व्यवस्थापकले मण्डल र बर्मालाई नै विभागमा पठाएका थिए भने विभागले बयान लिने क्रम जारी रहेको बताएको छ ।

राष्ट्र बैंकद्वारा कोकाकोलाको लाभांश फिर्ता लैजान रोक

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभांश नेपालबाट फिर्ता लैजानबाट रोकेको छ । बोटलर्स नेपालका रहेको ७६।१७ प्रतिशत स्वामित्व सन् २००४ देखि नै चलाखीपूर्ण तरिकाले बारम्बार कोकाकोला, साउथ वेस्ट होल्डिङ्स लिमिटेड (साब्को) र फेरि कोलकाकोलाकै बीचमा किनबेच भइरहेको खेलपछि राष्ट्र बैंकले कम्पनीको लाभांश फिर्ता लैजानबाट रोकेको हो । ‘बोटलर्सको बहुमत सेयर किनबेचमा निकै चलाखीपूर्ण तरिकाले स्वामित्व हस्तान्तरण भएको देखियो, नेपाललाई थाहै नदिइ कम्पनीको बहुमत सेयर नेपाल बाहिरै किनबेच भएको र नेपाललाई स्वामित्व हस्तान्तरणका विषयमा गुमराहमा राखेको पाइएपछि राष्ट्र बैंकले लाभांश फिर्ता लैजानबाट रोकेको हो,’ नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीले न्युज कारोबारसँग भने ।

राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार बोटलर्स नेपाल लिमिटेडले २०७४ साउन २६ गते बोटलर्सको स्वामित्वधारी सिंगापुरको एफएन्डएन (फिजर एन्ड निभ) कोकाकोला पिटिइ लि.को सेयर दुबईस्थित कोकाकोला साब्को एसिया लिमिटेडलाई बेचिएको हुँदा विदेशी लगानी लेखांकन गरिदिन भन्दै पत्र लेखेको थियो । ‘बोटलर्सको ७६ प्रतिशतभन्दा अधिकको सेयर स्वामित्व त्यसरी किनबेच हुँदा कतिमा किनबेच भयो, कुन स्वामित्वधारकले के सर्तमा ग्रहण गर्‍यो भन्ने कुनै पनि सहायक दस्तावेजहरू कम्पनीले न राष्ट्र बैंकमा पेश गर्‍यो, न त कम्पनी रजिष्ट्रारको कार्यालयमा नै,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७५ वैशाख ८ गते राष्ट्र बैंकसँग थप राय मागियो, जबकी राष्ट्र बैंकले त्यसअघि नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अतिरिक्त जानकारीको माग गरेर पत्राचार भएको थियो ।’ 

दुवै निकायबाट मागिएका सेयर स्वामित्व किनबेचसम्बन्धि थप दस्तावेजहरू बोटलर्स नेपालले प्रस्तुत गर्न नसकेपछि राष्ट्र बैंकले आव २०७४/७५ यताका लाभांश फिर्ता लैजानबाट रोकेको हो । ‘हाम्रो प्रारम्भिक अनुसन्धानले के देखायो भने बोटलर्स नेपालमा लामो समयदेखि विदेशी लगानीका थपिएको देखिएन । यहीँकै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी विस्तार गर्ने तर लाभांश भने विदेशी लगानी भनेर फिर्ता लैजाने गरेको पाइएपछि यसका आधारसमेत नखुलिञ्जेलसम्म लाभांश फिर्ता लैजान दिने अवस्था छैन,’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

स्रोतका अनुसार कम्पनीका क्षमता विस्तारका नाममा बोटलर्स नेपाल र बोटलर्स तराई लिमिटेड दुवैका नाममा सन् २००५ यता स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडबाट करिब साढे ६ अर्ब रूपैयाँ ऋण लिइसकिएको छ । सोही ऋण र आन्तरिक आयबाट बोटलर्स नेपालले प्लास्टिक बोटलिङ प्लान्ट, पानी प्रशोधन प्लान्ट र भरतपुरमा नयाँ आधुनिक बोटलिङ प्लान्ट विस्तार गरिएको कम्पनीको वार्षिक प्रतिवेदनहरूबाट देखिएको छ । यसअघि सन् २००४ मै अमेरिकी कोकाकोला कम्पनीले आफ्नो ७६ प्रतिशत सेयर कोकाकोला साब्को पिटिई लिमटेडलाई १ करोड ४० लाख अमेरिकी डलरमा बेचे पनि त्यसको एक वर्षपछि २०६१ मा मात्र राष्ट्र बैंकलाई यसबारे जानकारी दिइएको थियो । जुन कारोबारमा लाग्ने पुँजीगत लाभकर पछि चुडामणी शर्माको कर फर्छ्योट आयोगमार्फत थोरैमात्र कर तिरेर मिलान गरिएको थियो ।

त्यसबेला बोटलर्स नेपालले तिर्नुपर्ने कुल कर ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँमध्ये चुडामणी आयोगले २३ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरी बाँकी साढे ४३ करोड मिन्हा गराइदिएको थियो । सवा २ अर्ब संग्दिग्ध भुक्तानी ‘लाइन विस्तार’को नाममा बोटलर्स नेपालले सिंगापुरको फुड एन्ड बेभरेज सोलुसन्स (फ्याब्स) लाई समेत नेपालको प्रचलित कानुनविपरीत भुक्तानी गरेको पाइएको स्रोतले बतायो । फ्याब्सले विश्वव्यापी रूपमा नै कोकाकोलाका उत्पादन लाइन विस्तारको काम गर्छ, तर नेपालभित्र भएको कामको विदेशी कम्पनीलाई भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबारसम्बन्धि अनुमति लिनुपर्छ ।

फ्याब्स नेपालमा दर्ता नभएका कारण सन् २०१४/१५ मा भएको लाइन विस्तारको भुक्तानीमा वैधता दिलाउन एउटा नेपाली कम्पनीलाई पछि कृत्रिम रूपमा साझेदारका रुपमा उभ्याइएको स्रोत बताउँछ । स्मरणीय छ, हालैमात्र कम्पनीको ७६ प्रतिशत सेयर दुबईस्थित साब्कोले फेरि एटलान्टा (अमेरिका) स्थित कोकाकोला बोटलिङ प्लान्टलाई बेचेर नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले यही मंसिर २३ गते बोटलर्स नेपालमा छापामा मारेर कम्पनीका महत्वपूर्ण दस्तावेज, कम्प्युटर, ल्यापटप कब्जामा लिएर अहिले अनुसन्धान गरिरहेको छ ।

नेपाल बाहिर भएको यो सेयर किनेबेच कारोबार कतिमा गरियो भन्ने मूल दस्तावेज नै लुकाइएको छ । ‘सन् २००४ को नजिर हेर्दा वास्तविकभन्दा निकै कम मूल्यमा कारोबार भएको देखाइ अर्बौँ रुपैयाँको पुँजीगत लाभकर छल्ने नियत देखिन्छ, जबकी मूल स्वामित्व किनबेच हुँदा प्रचलित बजार मूल्यमा सम्पत्ति र सेयरको गणना गरिन्छ,’ राजस्वसम्बद्ध एक अधिकारी भन्छन्, ‘प्रचलित सेयर मूल्यका आधारमा अहिले बोटलर्स नेपालको कुल बजार पुँजीकरण साढे ३ अर्ब रूपैयाँभन्दा बढी छ, यस हिसाबले यसका चलअचल सम्पत्तिसम्तका गणना गर्दा १६-१७ अर्बभन्दा बढीमा सेयर किनबेच गरिएको देखिन्छ ।’ विदेशी कर्मचारीको तलब भुक्तानीमा समेत अपव्याख्या कम्पनीमा कार्यरत साना र तल्ला तहका नेपाली कर्मचारीका लागि ऐनकानुनमा पालमना कडीकडाउ गर्ने बोटलर्सका विदेशी व्यवस्थापकले भने यहाँको कानुनको अपव्याखा गरेर कर छल्ने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनियमसम्बन्धी व्यवस्थाले नेपालमा कार्यरत कुनै पनि विदेशी नागरिकले यहाँ भुक्तानी लिने पारिश्रमिकको ७५ प्रतिशत आफ्नो मुलुकमा लैजान पाउने व्यवस्था गरेको छ, तर कोकाकोलाका उच्च व्यवस्थापकहरूले आफ्नो गृह मुलुकमा नै ७५ प्रतिशत पारिश्रमिक बुझेर, नेपालमा भुक्तानी लिइने २५ प्रतिशतलाई सत प्रतिशत देखाइ त्यसको ७५ प्रतिशत आफ्नो गृह मुलुक पठाउने गरेको स्रोतले जानकारी स्रोतका अनुसार बोटलर्स नेपालका कुल कर्मचारी खर्चको करिब ३० प्रतिशत पाँच जना भारतीय व्यवस्थापकले भुक्तानी लिने गरेका छन् । कम्पनीको वार्षिक प्रतिवेदन २०७६/७७ अनुसार कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले गत वर्ष तलब र अन्य सुविधा गरेर ८ करोड रुपैयाँ भुक्तानी लिएका थिए ।

यसैबीच, राजस्व अनुसन्धान विभागले पुँजीगत लाभकर छली प्रकरणमा बोटलर्स नेपालका उच्च व्यवस्थापकसँग पनि बयान लिएको छ ।यसअघि नेपाली कर्मचारीलाई मोहरा बनाएरर भारतीय व्यवस्थापकहरू उम्किने तयारीमा रहेको खुलासा गरिएको थियो ।

कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका क्रममा बोटलर्स नेपालका अधिकारीहरूले दुबईस्थित कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड ९साब्को०ले कम्पनीको ७६.१६ प्रतिशत सेयर अमेरिकाको एटलान्टास्थित कोकाकोला बोटलिङ ग्रुपलाई १ अर्ब रूपैयाँमा किनबेच गरिएको बयान दिएका हुन् ।

यद्यपि, बोटलर्स नेपालका तर्फबाट सेयर किनबेच भएको कुनै दस्तावेज भने विभागमा पेश नगरिएको विभाग स्रोतले बतायो । ‘उहाँहरूले मौखिक बयानका क्रममा १ अर्ब रूपैयाँमा मूल स्वामित्व सेयर किनेबेच भएको बताउनुभएको छ, कम्पनीको प्रचलित सेयर मूल्य र सम्पत्तिका आधारमा जुन स्वाभाविक देखिँदैन,’ विभागका एक उच्च अधकारीले भने, ‘हामीले कम्पनीको सेयर कहाँ, कति मूल्यमा, कसरी किनबेच भयो भन्ने आधिकारिक दस्तावेज मागेका छौँ ।’ बोटलर्स नेपालमा कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड (कोकाकोला साब्को) को १४ लाख ८४ हजार ३०१ कित्ता सेयर छ । जुन कुल सेयर स्वामित्वको ७६.१६ प्रतिशत हो ।

सन् २०१४/१५ मा स्वामित्व किनबेच हुँदा सेयर बजारमा यसको प्रतिसेयर मूल्य औसत १६५० रूपैयाँ थियो । सन् २००४ र २०१४ मा गरी दुई पटकसम्म बोटलर्स नेपाल लिमिटेडको मुख्य सेयर नेपालबाहिर नै किनबेच गरिएको छ । अघिल्लो पटक सन् २००४ मा अमेरिकी कोकाकोला कम्पनीले आफ्नो ७६ प्रतिशत सेयर कोकाकोला साब्को पीटीई लिमिटेडलाई १ करोड ४० लाख अमेरिकी डलरमा बेचेको थियो । जुन कारोबारमा लाग्ने पुँजीगत लाभकर पछि चुडामणी शर्माको कर फर्छ्योट आयोगमार्फत थोरैमात्र कर तिरेर मिलान गरिएको थियो ।

त्यसबेला बोटलर्स नेपालले तिर्नुपर्ने कुल कर ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँमध्ये चुडामणी आयोगले २३ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरी बाँकी साढे ४३ करोड मिन्हा गराइदिएको थियो । पछिल्लो पटकको सेयर किनबेच र मूल स्वामित्व हस्तान्तरणबारे नेपालका सम्बद्ध जानकारी नदिइ पुँजीगत लाभकर छलेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले गत मंसिरमा कम्पनीका दस्तावेज, विद्युतीय उपकरण कब्जामा लिएर अनुसन्धान गरिरहेको छ ।

विभागको अनुसन्धान अगाडि बढेसँगै कोकाकोलाले सेयर किनबेच र सहायक कम्पनीको सेयर स्वामित्व नामसारी प्रक्रियामा संलग्न रहेका कर्मचारीहरूलाई नेपालबाट सरुवा गरेको छ । स्रोतका अनुसार सहायक कम्पनीमध्ये ट्रोयका ट्रेडर्स प्रालिको स्वामित्व आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएका सुमित गोयल र रजनिस शर्मालाई नेपालबाट क्रमसः मलेसिया र भारत सरुवा गरिएको हो ।

अमेरिकी राजदूतावासको चासो

यसैबीच, अमेरिकी कम्पनीमा बहुमत सेयर स्वामित्व गइसकेको बहुराष्ट्रिय कम्पनी बोलटर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचका विषयमा अनुसन्धान सुरु गरिएपछि नेपालस्थित अमेरिकी राजदूतावासले चासो देखाएको छ । दूतावासका अधिकारीहरू गत साता बोटलर्स नेपालको कार्यालयमा गएर त्यहाँका उच्च व्यवस्थापकहरूसँग यस विषयमा छलफल गरेको स्रोतले बतायो ।

सेयरधनीलाई थाहै दिइएन

कम्पनीको सेयर स्वामित्व किनबेच भएको र यस विषयमा राजस्व अनुसन्धान विभागले  अनुसन्धान थाले पनि बोटलर्स नेपालले कम्पनीका सेयरधनीहरूलाई यस विषयमा थाहै दिइएको छैन । बोटलर्स नेपाल र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) दुवै सेयरबजारमा सूचिकृत कम्पनी हुन् । कम्पनीको गत पुस २२ गते भर्चुअल रुपमा सम्पन्न साधारण सभामा यस विषयमा केही थाहा नदिइ छोटो समयमै औपचारिकता पूरा गरेर सम्पन्न गरिएको सेयरधनीहरू बताउँछन् ।

व्यवस्थापनमा हेरफेर

मूल स्वामित्व सेयर किनबेच भएको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेपछि कम्पनीका सूचनाहरू ‘मिडियामा चुहिएको’ भन्दै कोकाकोलाले नेपाली उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । निर्णय र कार्यान्वयन प्रक्रियामा समेत फेरबदल गर्दै केही नेपाली कर्मचारीको ‘टिम’ बनाएर सरकारी र मिडिया सम्बन्ध सुधार गर्ने जिम्मेवारी दिइएको कम्पनीका अधिकारीहरूले बताए ।

कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनी सञ्चालकहरूले स्वीकार गरेसँगै राजस्व अनुसन्धान विभागले कम्पनीको स्थानीय कारोबारमाथि समेत थप अनुसन्धान थालेको छ ।

‘झन्डै चार दशकदेखि बोटलर्स नेपालले कोकाकोला ब्रान्डको स्थानीय उत्पादकसरह भइ उत्पादन गर्दै आए पनि अनुसन्धानका क्रममा यो बोटलिङ कम्पनीमात्र भएको पाइएकाले कोलाकोलाको मूल कम्पनीले नेपालका कारोबारका लागि स्थानीय शाखा दर्तासहितका अन्य प्रक्रिया पूरा नगरेको देखिएको छ,’ राजस्व अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीले भने,‘कोकाकोलाको प्यारेन्ट कम्पनीले यतिका वर्षसम्म कुन माध्यम र विधिबाट नेपालबाट ब्रान्ड प्रयोगका रोयल्टी रकम लग्यो भन्ने पाटोमा अनुसन्धान सुरु भएको छ ।’

नेपालमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भइ कोकाकोला र त्यसका सहायक ब्रान्डहरूको ‘बोटलिङ’ गर्दै आएको बोटलर्स नेपाल लिमिटेड र त्यसकै सहायक कम्पनीका रूपमा खोलिएका बोटलर्स नेपाल (तराई) लिमिटेड र ट्रोयका ट्रेडिङ प्रालिले ‘कोकाकोला’ ब्रान्ड प्रयोग अमेरिकी माउ कम्पनी कोकाकोलाले गरेबापत करिब २५-३० प्रतिशत रकम ‘ब्रान्ड रोयल्टी’का रूपमा नेपालबाट लैजाने गरेको छ । कोकाकोलाको गोप्य राखिएको फर्मुलासहितको ‘झोल’ नेपालसहितका विश्वभरि रहेका बोटलिङ प्लान्टमा अमेरिकाबाट सिंगापुरसहितका क्षेत्रीय प्लान्ट हुँदै भित्र्याइन्छ ।

‘बहुराष्ट्रिय कम्पनीहरूका स्थानीय कारोबारको मिहिन अध्ययनबाट नेपालमा स्थानीय शाखा कम्पनी दर्ता नगरी प्रतिनिधि कम्पनीहरूमार्फत कारोबार गर्ने र त्यसमा समेत स्थानीय कर पालनाभन्दा छल्ने प्रवृत्ति बढी देखियो, ’ विभागका ती अधिकारीले भने ।

कोकाकोलाजस्तै अर्को बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालस्थित बोटलिङ कम्पनी, वरुण वेभरेज नेपालले ६४ करोड रूपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणका प्रसंग उल्लेख गर्दै ती अधिकारीले जसरी पेप्सिकोका नेपालका तत्कालीन र पूर्वसञ्चालकहरूदेखि प्रमुख कार्यकारी अधिकृतमाथि समेत कर छलीको मुद्दा चल्यो, त्यसरी नै कोकाकोलाका कारोबारमाथि थप अनुसन्धान थालिएको बताए ।

भ्याट छली प्रकरणमा विभागले लामो अनुसन्धानपछि वरुण वेभरेज (नेपाल) प्रालिका पूर्व तथा वर्तमान सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारविरुद्ध मुद्दा दायर गरेको थियो । सो कर छली प्रकरणमा वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन अग्रवाल गत साता उच्च अदालत पाटनको आदेशअनुसार पक्राउ परेका हुन् ।

विभागले लामो समय लगाएर गरेको अनुसन्धानपछि वरुण वेभरेजले आर्थिक वर्ष २०७०/७१ देखि ०७५/०७६ सम्ममा नक्कली भ्याट बिल कारोबारबाट २५ करोड ३४ लाख ६ हजार ९४० रुपैयाँ भ्याट र आयकरतर्फ लाभांशसमेत ३९ करोड ६१ लाख ९५ हजार ४ सय गरी कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ राजस्व छली गरेको देखिएको थियो ।

सन् २००४ देखि यता कोकाकोलाको नेपालका लागि ब्रान्डिङ कम्पनी बोटलर्स नेपाल लिमिडेको ७६.१७ प्रतिशत सेयर तीन पटकसम्म नेपाल बाहिर नै किनबेच हुँदा नेपालले पाउनु पर्ने पुँजीगत लाभकर छली गरिएको अभियोगमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको हो ।

बोटलर्स नेपालका व्यवस्थापकहरूले स्वामित्व किनबेच भएको स्वीकार गरिसकेकाले कम्पनीको बिक्री कारोबारबाट माउ कम्पनी कोकाकोला एटलान्टाले ‘अन्तर कम्पनी कारोबार’ का माध्यमबाट नेपालबाट लाने गरेको रोयल्टी र अन्य बिक्री कारोबारबाट प्राप्त हुनुपर्ने राजस्वसमेत गुमेको आशंकामा थप अनुसन्धान थालिएको हो ।

कोकको वार्षिक २० करोड अधिकको विज्ञापन कारोबार, नेपाल बाहिरैबाट भुक्तानी

नेपालमा चार दशकभन्दा अधिकदेखि बोटलिङ कम्पनी स्थापना गरेर ‘कार्बोनेटेड ड्रिंक’ को कारोबार गर्दै आएको कोकाकोलाले नेपालमा गर्ने विज्ञापनसहितका अन्य प्रचारप्रसारको व्यवस्थापन र भुक्तानी भारतबाट गर्ने गरेको पाइएको छ । ‘नेपालमा कोकाकोलाको बोटलिङ तथा व्यापारको कारोबार गर्दै आएको बोटलर्स नेपाल र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) ले गर्ने विज्ञापन व्यवस्थापन र भुक्तानी भारतीय कोकाकोला कम्पनीमार्फत हुने गरेको पाइएको छ,’ कोकाकोलाको कर छली प्रकरणको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो, ‘विज्ञापन कारोबारको समेत सही लेखांकन नभएको पाइएको छ ।’

बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर अफ्रिकाको गुत्से परिवारले नेपाललाई थाहै नदिइ नेपालबाहिर नै कोकाकोला एटलान्टालाई बेचेर पुँजीगत लाभकर छलेको प्रकरणमा अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले कोकाकोलाको अन्य संग्दिग्ध कारोबार र भुक्तानीमाथि पनि छानबिन थालेको हो ।

विभाग स्रोतले विज्ञापन कारोबारको लेखांकन नभएको र यसमा छानबिन भइरहेको बताए पनि कम्पनी स्रोतले भने वार्षिक २० करोड रूपैयाँभन्दा अधिकको ‘इनडोर’ र ‘आउटडोर’ विज्ञापन बजेट हुने गरेको जानकारी दियो । ‘विज्ञापन कारोबार समयअनुसार घटीबेसी हुने गरेको छ, कोकाकोलाका बिक्री घटेका बेला बढी स्किमहरू ल्याउनु पर्ने हुन्छ, त्यस्तो वर्ष यस्तो बजेट बढी हुने गरेको छ,’ कम्पनी स्रोत भन्छ ।

केही वर्षअघिसम्म कोकाकोला इन्डिया र हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि (एचसीसीबीपीएल) मार्फत नेपालको बजारीकरण, विज्ञापन र बिक्री व्यवस्थापनसमेत हेरिने गरिएकोमा विगत केही वर्षयता विज्ञापनका स्थानीयकरणका नाममा नेपाली एजेन्सीलाई दिन थालिएको छ । ‘यद्यपि विज्ञापन व्यवस्थापन र भुक्तानीका काम उतै (भारत) मै हुन्छ,’ स्रोत भन्छ, ‘भुक्तानी कारोबार भारतमा हुँदा नेपालमा तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अन्य कर छलिएको देखिन्छ ।’

नवीकरण नभएको कम्पनीको व्यवस्थापन खर्च

यसैबीच, नेपालमा उत्पादन नहुने कोकाकोलाका उत्पादन भारत, भुटान, सिंगापुरलगायतका देशबाट आयात गरि यहाँ बिक्री गर्नका लागि स्थापना गरिएको बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयका ट्रेडर्स प्रालिको व्यवस्थापन नामसारी प्रकरणमा नवीकरण रोकिए पनि गत आर्थिक वर्षमा त्यसमार्फत ५१ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको देखाइ साढे ५ लाख व्यवस्थापन खर्च काटिएको पाइएको छ ।

२०७५ सालमा सत प्रतिशत बोटलर्स नेपालको नाममा रहेको ट्रोयका नेपाल प्रालिको सेयर भारतीय नागरिकहरू सुमित गोयल र रजनीस शर्माका नाममा नामसारी गर्ने प्रक्रिया अगाडि सारेपछि वाणिज्य विभागले रोकेको थियो । गोयल र शर्मा दुवै बोटलर्स नेपालमा कार्यरत रहेकोमा हाल पुँजीगत लाभकर छली प्रकरणमा अनुसन्धान थालिएपछि कोकाकोलाले दुवैको नेपालबाट सरुवा गरेको छ ।

व्यापारिक कारोबार गर्नका लागि कम्पनी दर्ता नवीकरण नै नगरिए पनि गत वर्ष साढे ५१ लाखको कारोबार भएको देखाइ व्यवस्थापन खर्चका रूपमा साढे ५ लाख रूपैयाँ लिइएको हो । अवैधानिक रूपमा सेयर स्वामित्व नै आफ्नो नाममा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएका भारतीय नागरिकद्वयले ट्रोयकाको व्यवस्थापन जिम्मा लिएको भन्दै भुक्तानी लिएको रकमसमेत अनुसन्धानको प्रक्रियामा देखिएको हो ।

ताजा खबर