खेलको कुम्भमेला: टोकियो ओलम्पिक आज सुरु हुँदै, ६८ हजार अट्ने रंगशालामा ९ सय ५० मात्र दर्शक

२०७८ श्रावण ८ शुक्रबार ११:२४:०० मा प्रकाशित

काठमाडौं । कोभिड महामारीका कारण एक वर्ष ढिलो भएको टोकियो ओलम्पिक अन्तत आजबाट सुरु हुँदैछ । जापानको राजधानी टोकियोस्थित राष्ट्रिय रंगशालामा कोभिड प्रभावित ओलम्पिकको उद्घाटन गरिनेछ ।

खेल बुधबार बाट नै सुरु भइसके पनि टोकियो ओलम्पिकको औपचारिक सुरुवात आज हुनेछ । नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट पछि उद्घाटन समारोह सुरु हुनेछ । ओलम्पिकको  मुख्य आकर्षण उद्घाटनमा रहने गर्छ । तर यसपटक कोरोनाका कारण ओलम्पिकका धेरै परम्पराहरु तोडिएका छन् । त्यसैले उद्घाटन पनि संयमित र शान्त हुनेछ ।

६८ हजार दर्शक क्षमताको रंगशालामा मात्र ९ सय ५० जनालाई प्रवेश अनुमति दिइएको छ । उनीहरु संचरकर्मी, पदाधिकारी र विदेशी पाहुना हुन् । उद्घाटन समारोहमा भाग लिन फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन टोकियो पुगेका छन् । यस्तै अमेरिकी डेलिगेशनको नेतृत्व प्रथम महिला जील बाइडेनले गरेकी छिन् । उद्घाटनमा १५ जना मात्र विश्व नेताहरुको उपस्थिति रहनेछ ।

कोभिड चुनौती र विभिन्न स्क्यान्डलका बीच टोकियो ओलिम्पक सुरु हुँदैछ । हिजो मात्र समारोहका निर्शेदकलाई आयोजकले बर्खास्त गरेको थियो । केही दिन अघि समारोहकै संगीतकारले पनि पदबाट राजीनामा दिएका थिए । दुवै जनाको अभद्र व्यवहार र मजाक उडाइएको पुरानो रिपोर्ट सार्वजनिक भएको थियो । यस्तै टोकियोमा ओलम्पिक ल्याउन महत्वपूर्ण भूमिका निभाएका पूर्व प्रधानमन्त्री सिन्जो आबे पनि उद्घाटनमा नजाने स्थानिय संचार माध्यमले जनाएका छन् ।

मुख्य प्रयोजक मध्येको एक टोयोटाले यसअघिनै उद्घाटनमा भाग नलिने जनाइ सकेको छ । आबेले कोरोनाका बीच पनि ओलम्पिक हुनुपर्नेमा ब्यापक वकालत गरेका थिए । तर अन्तिम समयमा दर्शकलाई प्रतिबन्ध लगाएपछि उनी उद्घाटनमै नजाने निर्णय लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जापानका सम्राट नारुहितो सहभागी हुने बताइएको छ ।

अगस्ट ८ सम्म हुने ओलम्पिकमा दुइ सय ६ देशका करिब ११ हजार बढी एथ्लिटले ३ सय ३९ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी खेलाडी मध्ये ४८ दशमलब ८ प्रतिशत महिला  छन् । जुन ओलम्पिकको अहिलेसम्मकै धेरै हो । नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परिया, एथ्लेटिक्सकी सरस्वती चौधरी र पौडीका गौरिका सिंह र एलेक्स शाह छन् । खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २६ सदस्यीय नेपाली टोली टोकियो पुगेको छ । मार्चपासमा गौरिका सिंह संगै एलेक्सले नेपालको झन्डा बोक्नेछिन् । नेपालले सन १९६४ मा भएको टोकियो ओलम्पिक बाटै सहभागिता जनाउन सुरु गरेको थियो ।

यस पटक पनि अमेरिका, चीन, बेलायत, जर्मनी, रुसले नै पदक तालिकामा वर्चश्व जमाउने अनुमान गरिएको छ । ७० प्रतिशत भन्दा बढी जापानी नागरिकले विरोध जनाएको टोकियो ओलम्पिक कत्तिको सुरक्षित हुन्छ भन्ने मुख्य प्रश्न छ ।  

ताजा खबर