ओलम्पिक उद्घाटन कार्यक्रमका निर्देशक निष्कासित

२०७८ श्रावण ७ बिहीबार १३:३३:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनु एक दिनअघि उद्घाटन कार्यक्रमका निर्शेनक बर्खास्त भएका छन् । विगतमा होलोकस्टसँग सम्बन्धि मजाक गरेको भिडियो सार्वजनिक भएपछि उद्घाटन समारोहका निर्देशक केन्तारो कोबायासीलाई बर्खास्त गरिएको हो । उनले सन १९९८ मा होलोकस्टबारे मजाक उडाएको फुटेज अहिले सामाजीक संजालमा भाइरल भएसँगै आलोचना हुन थालेपछि आयोजक उनलाई हटाउन बाध्य भएको हो ।

ग्लोबल राइटस ग्रुप साइमन वेसेन्थल सेन्टरले जो सुकै सर्जक अथवा कलाकार भएपनि नाजी नरसंहारका पीडितको मजाक उडाउने अधिकार उनीहरुलाई नभएको भन्दै कडा आपत्ति जनाएको थियो ।  टोकियो ओलम्पिक आयोजक समितिकी प्रमुख सिको हासिमितोले, कोबायासीले पिडादायी सत्य भएको इतिहासको उपहास गरेको उल्लेख गरिन् । सो वेला हास्यकलाकार रहेका कोबायासीले, होलोकस्ट अर्थात दोस्रो विश्वयुद्धका दौरान नाजी नरसंहारका पीडित करिब ६ मिलियन यहुदीकाबारे मजाक गरेका थिए । उनले आफ्नो प्रस्तुतीमा लेट्स प्ले होलोकस्ट समावेश गरेका थिए । उद्घाटन समारोहका संगीतकार केइगो ओयामाडाल पदबाट राजीनामा दिएको भोलीपल्ट निर्देशक बर्खास्त भएका हुन् । उनको पनि बदमाशी र अपमानजनक ब्यबहारको पुरानो रिपोर्ट सार्वजनिक भएको थियो ।

यसै वर्षको सुरुवातमा महिलाहरु प्रति अपमानजक अभिब्यक्ति दिएका कारण आयोजक समितिका प्रमुखले पनि पदबाट हट्नु परेको थियो । कोरोनाका कारण समस्या बोहोरिरहेको आयोजक जापानलाई पछिल्ला यी घटनाले थप निराश बनाएको छ । बर्खास्तमा परेका निर्देशक कोबायासीले आफुले सो वेला गरेको कार्यप्रति माफी मागेका छन् । 

थप खेलाडी संक्रमित

टोकियो ओलम्पिकमा थप दुइ जना खेलाडी कोरोना भाइरस संक्रमित भएका छन् । ओलम्पिक भिलेजमा संक्रमित भएका खेलाडीको नाम र परिचय भने खुलाइएको छैन । टोकियो ओलम्पिक २०२० को आयोजकले आज दुइ खेलाडीमा संक्रमण भेटिएको जानकारी दिएको हो । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा दुइ खेलाडी सहित १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बिबिसीका अनुसार ओलम्पिकसँग सम्बन्धित संक्रमितको संख्या अहिलेसम्म ९१ पुगेको छ । टोकियोमा ओलम्पिक संक्रमण दरमा बृद्धि भएपछि ओलम्पिक छायाँमा परेको छ । महामारी नियन्त्रणका लागि जापान सरकारले अगस्ट २२ सम्मका लागि आपतकाल लागु गरेको  छ ।

ओलम्पिकको उद्घाटन शुक्रबार

कोरोना महामारीका कारण एक वर्ष ढिला सुरु भएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुँदैछ । ओलम्पिकको मुख्य आकर्षणका रुपमा रहने उद्घाटन समारोह यस पटक भने कोभिडका कारण फिक्का हुनेछ । उद्घाटन कार्यक्रम स्थानिय समय अनुसार राती आठ बजे सुरु हुनेछ । यस पटक ओलम्पिक समारोह दर्शक विहिन हुनेछ । भाइरस सर्ने डरले ओलम्पिकमा दर्शक प्रवेशमा प्रतिबन्ध लगाइएको हो । टोकियो ओलम्पिक स्टेडियममा उद्घाटन सामारोह गरिनेछ । उद्घाटन समारोह मुभिङ फरवार्ड अवधारणका आधारमा गरिनेछन् । यसको अर्थ कोभिड महामारीबाट अघि बढ्ने भन्ने हो । उद्घाटनको थिम युनाइटेड बाइ इमोसन्स तय गरिएको छ । कोभिडका कारण भौतिक दूरी भएपनि भावनात्मक रुपमा सारा पिश्व एक छ भन्ने  संदेश दिन खोजिएको छ । ओलम्पिक उद्घाटनमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे उपस्थित नहुने स्थानिय संचारमाध्यमले जनाएका छन् ।

नेपालबाट ५, खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २६ सदस्यीय टोली टोकियोमा पुगेको छ । ओलम्पिकमा दुइ सय बढी देशका ११ हजार एथ्लिटले ३३ खेलका विभिन्न इभेन्टसमा प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकका खेल भने बुधबारबाटै सुरु भइसकेका छन् । 

ताजा खबर