टोकियो ओलम्पिक: सुरु भयो प्रतिष्पर्धा, विश्व विजेता अमेरिका स्वीडेनसँग पराजित

२०७८ श्रावण ६ बुधबार २१:०१:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिकमा आजबाट सफ्टबल र महिला फुटवलका खेल सुरु भएका छन् । ओलम्पिकको औपचारिक उद्घाटन भने शुक्रबार हँुदैछ । 

पहिलो दिननै महिला फुटवलमा स्वीडेनले विश्व विजेता अमेरिका माथि तीन शून्य गोलको सनसनीपूर्ण जीत हात पारेको छ । यो सँगै अमेरिकाको ४४ खेल देखिको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । सुरु देखिनै अमेरिका माथि दवाव बनाएको स्वीडेनले खेल सुरु भएको आठ मिनेटमै तीन सट टार्गेटमा प्रहार गरेको थियो । २५ औं मिनेटमा उसले खेलमा अग्रता लियो । उसका लागि स्टिना ब्ल्याकस्टेनियसले गोल गरेकी थिइन् । उनैले ५४ औं मिनेटमा अग्रता दोब्बर पारिन् ।

७२ औं मिनेटमा सब्सिच्युट लिना हर्टिगले तेस्रो गोल थपेकी थिइन् । चार पटकको स्वर्ण विजेता अमेरिकाले सन् २०१९ यता हार बेहोरेको यो पहिलो पटक हो । आजै भएको अर्को खेलमा ब्राजिलले चीनलाई पाँच शून्य गोलले हरायो । ब्राजिलको जीतमा मार्टाले दुइ गोल गरिन् । योसँगै मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।

महिला फुटवलकी लेजेन्ड मार्टाले २००४ को एथेन्स ओलम्पिकमा पहिलो गोल गरेकी थिइन् । उनले पाँच ओलम्पिकमा कुल १२ गोल गरेकी छिन् । यस्तै ब्राजिलकै ४३ वर्षिया डिफेन्डर फोरमिगाले आफ्नै कीर्तिमान बढाइन् । उनी सवै सातवटै ओलम्पिकमा सहभागी जनाउने पहिलो खेलाडी हुन् । ओलम्पिकमा महिला फुटवल १९९६ बाट सुरु भएको थियो । उनी पहिलो संस्करण देखिनै सहभागी हुँदै आएकी छिन् ।

नेदरल्यान्डसले जाम्बियालाई १०– ३ गोलको फराकिलो अन्तरले पराजित गरिन् । हारका बाबजुत जाम्बियाकी कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् । बेलायतले चिलीलाई २–०, अस्ट्रेलियाले न्युजील्यान्गडलाई २–१ गोलले पराजित गर्यो । आयोजक जापान र क्यानडाले भने १–१ गोलको बराबरी खेले । ओलम्पिकमा पुरुष फुटवल विहीबारबाट सुरु हुनेछ ।

सफ्टवल तर्फ आज तीन खेल भएका थिए । जापानले अस्ट्रेलियालाई ८–१ले पराजित गर्यो । अमेरिकाले इटाली माथि २–० गोलको जीत हात पार्दा क्यानडाले मेक्सिकोलाई ४–० ले हरायो । 

ताजा खबर