आगामी तीन ओलम्पिक आयोजक शहर छानिए: पेरिस, लसएन्जलस र व्रिसबेन

२०७८ श्रावण ६ बुधबार २०:२२:०० मा प्रकाशित

काठमाडौं । सन् २०३२ को ओलम्पिक अस्ट्रेलियामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले आज ब्रिसबेन शहरलाई ओलम्पिक आयोजनाको अधिकार प्रदान गरेको हो ।

टोकियो ओलम्पिक पूर्व सन्ध्यामा बसेको आइओसीको कार्यसमिति बैठकले ब्रिसबेनलाई आधिकारिक रुपमा ओलम्पिक आयोजक शहर घोषणा गरेको हो । आइओसीका अध्यक्ष थोमस बाखले ब्रिसबेनलाई ३५ औं ओलम्पिक आयोजनाको अधिकार प्रदान गर्न पाउँदा सम्मानित महशुस भएको बताए । अस्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजना गर्दैछ । यसअघि १९५६ मा मेलवर्न र २००० मा सिड्नी शहरले ओलम्पिक आयोजना गरिसकेको छ । क्विन्सल्यान्डको.राजधानी मेलवर्नलाई गत फेबु्रअरीमा ओलम्पिक आयोजक शहरका रुपमा छनोट गरिएको थियो ।

इन्डोनेसिया, हंगेरीको बुडापेस्ट, चीन, कतारको दोहा र जर्मनीको रुहर शहरले पनि आयोजनामा इच्छा देखाएका थिए । तर सन् २०१९ मा आइओसीले खर्च कम गर्न र छनोट प्रकृया सजिलो बनाउन  दावेदारी सम्बन्धी नियम परिवर्तन गरेको थियो । आइओसीका १५ कार्यसमिति सदस्यले सर्वसम्मत रुपमा सहमति जनाएपछि ब्रिसबेनलाई अधिकार पाउने निश्चित जस्तै थियो । आइओसीबाट ब्रिसबेनले लगातार प्रशंसा पाइरहेको थियो भने अरु शहर भन्दा आफुलाई अग्रस्थानमा राखेको थियो ।

योसँगै आगामी तीन ओलम्पिकको आयोजक शहरको टुंगो लागेको छ । २०२४ को ओलम्पिक फ्रान्सको पेरिस र २०२८ मा अमेरिकाको लस एन्जलसमा हुनेछ । २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी शुक्रबारबाट सुरु हुनेछ । 


 

ताजा खबर