टि ट्वान्टी: दक्षिण अफ्रिकाले आयरल्यान्डलाई उछिन्यो

२०७८ श्रावण ५ मंगलबार १३:५०:०० मा प्रकाशित

काठमाडौं । ताबरेज शाम्सीको घातक वलिङको मदतमा दक्षिण अफ्रिकाले आयरल्यान्ड विरुद्धको पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रियमा ३३ रनको जीत हात पारेको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

ओनपर पल स्र्टलिङ र केभिन ओब्रायन सस्तैमा आउट भएपछि दवावमा आएको घरेलु टोली आयरल्यान्ड सम्हालिन सकेन । स्र्टलिङ मात्र ६ रनमा पवेलियन फर्किदा केभिनले खाता खोल्न सकेनन् । हेरी टेक्टरले ३६, बेरी मकार्थीले ३०, एन्डी बलबिर्नीले २२ र जोश लिटिलले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा शाम्सीले चार ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । जर्ज लिन्डेले २, लुंगि एनगिडीले २ र कागिसो राबडाले १ विकेट लिए ।

यसअघि डब्लिनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको योगफल बनाएको थियो । उसले ४४ रनमा तीन विकेट गुमाएको थियो । क्विन्टन डि कक २० र टेम्बा बाभुना १३ रनमा आउट भए । जान्नेमन मलान जम्मा ४ रनमा मैदान बाहिरिए । तर मध्यक्रमका ब्याट्सम्यानले दक्षिण अफ्रिकाको पारीलाई अघि बढाए । एइडेन मारक्रमले सर्वाधिक ३९, डेविड मिल्लरले २८, रस्सी भान डेर डुसेनले २५, राबडाले अविजीत १९ र लिन्डेले १० रनको योगदान गरे ।

मार्क एडेरले ३, सिमी सिंह र लिलिटलले २–२ विकेट लिए । आयरल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकासँग टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको हो । जीतपछि तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले एक शून्यको अग्रता लिएको छ । दोस्रो टि ट्वान्टी विहिबार हुनेछ । यसअघि भएको ३ एकदिवसीय सिरिज एक एकको बराबरीमा सकिएको थियो । 

ताजा खबर