ओलम्पिक नजिकिँदै गर्दा कोरोना संक्रमित खेलाडी र खेल पदाधिकारी बढ्दै

२०७८ श्रावण ३ आइतबार १२:३२:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिकको उद्घाटन मिति नजिकै गर्दा खेलाडी र पदाधिकारी कोभिड संक्रमित हुने दरमा बृद्धि भएको छ । प्रत्येक दिन खेलाडी र  ओलम्पिकसँग सम्बन्धित ब्यक्तिहरु सक्रमित हुन थालेपछि स्वास्थ्य सुरक्षालाई लिएर प्रश्न उठ्न थालेको छ । 

आयोजक जापानले ओलम्पिकलाई कोरोना संक्रमणबाट टाढा राख्न अत्यन्त कडा मापदण्ड लागु गरेको छ । तर यति गर्दा पनि संक्रमति हुनेको संख्यामा भने बृद्धि भइरहेको छ । शनिबार खेलाडी बस्ने एथ्लिट भिलजेमा पहिलो पटक एक जनामा संक्रमण पुष्टि भएपछि तरंग पैदा भएको छ । एथ्लिट भिलेजभमा दुइ सय ६ देशका करिब ११ हजार एथ्लिट बस्छन् ।

आज थप तीन खेलाडी कोभिड पोजेटिभ पाइएको आयोजकले जानकारी दिएको छ । संचारकर्मी, पदाधिकारी र अन्य ब्यक्ति गरी शनिबार १५ र आज १० जनामा संक्रमण भएको बताइएको छ । आजै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका दक्षिण कोरियाली एक सदस्य पनि जापान पुगेपछि संक्रमित भएका छन् । ओलम्पिक पदाधिकारी रिउ सिउङ मिनको परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनले जापान जानु अघि गरेको ुदइ परीक्षण नेगेटिभ आएको र आफुलाई दुवै डोज खोप लगाएको जानकारी गराए ।

टोकियोमा संक्रमित हुने उनी पहिलो ओलम्पिक पदाधिकारी हुन् । चेक रिपब्लिकको ओलम्पिक टिमका एक सदस्यमा पनि भाइरस पुष्टि भएको छ । आयोजक जापानले एथ्लिट भिलजेमा देखिएको संक्रमणको चिन्तालाई कम गर्दै स्वास्थ्य सुरक्षा आफुहरुको पहिलो प्राथमिकता भएको जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका अध्यक्ष थोमस बाखले  महामारीका बीच प्रतियोगिता हुँदा जापानी नागरिकमा शंका हुनु स्वभाविक भएको बताए । उनले यसबारे आइओसी पहिल्यै जानकार रहेको भन्दै संक्रमण दर न्युन रहेकाले नआत्तिन आग्रह गरे । खेलाडीले मैदानमा प्राप्त गर्ने सफलताले जापानी नागरिकको मुड परिवर्तन गराउने विश्वास उनको छ ।

ओलम्पिक २३ जुलाइबाट सुरु हुँदैछ । कोभिड फैलिन नदिन सरकारले टोकियोमा आपतकाल लगाएको छ । ओलम्पिकको विरोधमा स्थानियको विरोध प्रदर्शन पनि जारी छ । अधिकांश जापानी नागरिकले ओलम्पिकका कारण देशमा कोरोना फैलिने चिन्ता ब्यक्त गरेका छन ।  

ताजा खबर