इटालीका गोलकिपर डोनारुम्मालाई पिएसजीले लियो

२०७८ असार ३१ बिहीबार १०:५७:०० मा प्रकाशित

काठमाडौं । इटालीलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका निभाएका गोलकिपर जानलुइजी डोनारुम्मा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्धन भएका छन् । डोनारुम्माले पिएसजीसँग ५ वर्षको सम्झौता गरेका हुन् ।

इटालीले गत आइतबार इङल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दोस्रो पटक युरो कप जितेको थियो । डोनारुम्माले पेनाल्टिमा इङल्यान्डका दुइ खेलाडीको प्रहार विफल पारिदिएका थिए । २०१८ मा रोबर्टो मान्सिनीले इटालीको राष्ट्रिय टिम सम्हालेयता डोनारुम्मा पहिलो रोजाइका गोलकिपर रहँदै आएका छन् । २२ वर्षिय डोनारुम्मा विगत पाँच वर्षदेखि इटालियन सिरी या क्लब एसी मिलानमा थिए ।  सम्झौता सकिएसँगै उनले क्लब छोड्ने घोषणा गरेका थिए । त्यसैले पिएसजीले उनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

डोनारुम्मा युरोकपका उत्कृष्ट खेलाडी पनि हुन् । २०१६ मा मिलान गएका डोनारुम्माले २ सय ५१ खेल खेले । गत सिजन मिलानले लिगमा दोस्रो स्थान प्राप्त गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो । मिलान २०१३–१४ को सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको हो । पिएसजीले फ्रि ट्रान्सफरमा नै गत साता रियाल मड्रिडका पूर्व भेट्रान डिफेन्डर सर्जियो रामोसलाई अनुवन्ध गरेको थियो ।

 

ताजा खबर