परिवार प्रणाली नै ध्वस्त पार्दैछ नयाँ मुलुकी ऐेन

२०७८ असार ३१ बिहीबार १०:४४:०० मा प्रकाशित

परिवार भन्ने शब्द नेपाली भाषाको अग्र्यानिक शब्द लाग्छ । यो फ्यामिली भन्दा निकै ठूलो अर्थ दिने रुपमा बुझ्छु म । नेपालमा परिवार संयुक्त र एकल परिवारको रुपमा विभक्त छ । यहि परिवार शब्दलाई अझ परिस्कृत नबनाई सिधै पश्चिमाको नक्कल गरेर एकल परिवार रोज्नेको जमात बढेको देखिन्छ । खासमा अनुकरण हो । यसले हाम्रो परम्परा र संस्कृतिलाई ध्वस्त बनाउछ । नेपाली परिवार प्रणालीमा सुधार आई सांस्कृतिक विकास हुनु पर्नेमा उल्टो गतिले समाज विकृत हुँदै गएको छ । 

नेपाली शब्दकोषले परिवारलाई रगत वीर्य नाता घर अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह भनेर भनेको छ भने एउटै भान्सामा खाने घरका मानिसहरुको समूह, जहान भनेर पनि परिभाषित गरिएको छ । परिवार नातेदार र कुटुम्ब आदिको समूह, सजातीय व्यक्तिहरुको समूह, वर्ग, कुनै राजा वा धनवानका आश्रयमा रहने मानिसहरुको समूहलाई समेत परिवारको परिभाषाभित्र समेटिएको हुँदा नेपाली परिवारिक संस्कृति बृहत किसिमको छ ।

सहकारी ऐन २०७४ ले परिवालाई सहकारीको सदस्यको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नुपर्ने दाजु, भाई, बुहारी र दिदी, बहिनी सम्झनु पर्छ भनेर परिभाषित गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले परिवारलाई अपाङ्गता भएका व्यक्तिका बाजे, बज्यै, बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी वा पति पत्नी सम्झनु पर्छ र सो शब्दले एकासगोलमा बस्ने निजका अन्य नातेदारलाई समेत जनाउँछ भने परिभाषित गरेको पाइन्छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने व्यक्तिको एकासगोलको पति, पत्नी, बाबु, आमा वा सौतेनी आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा, छोरी, बुहारी, धर्मपुत्र, धर्मपुत्री, नाति वा नातिनी सम्झनु पर्छ  र सो शब्दले पुरुष वा अविवाहित महिलाको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिलाको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ भनेर परिभाषित गरेको पाइन्छ ।
बालकालिका सम्बन्धि ऐन २०७५ ले परिवारलाई बालबालिकाका बाबु, आमा, एकासगोलका दाजु, भाइ, दिदी, बहिनी, हजुरबुबा वा हजुरआमा सम्झनु पर्छ र सो शब्दले एकासगोलमा बस्ने नजिकका अन्य नातेदारलाई समेत  जनाउँछ भनेर परिभाषित गरेको देखिन्छ । 

परिवारमा सल्लाह हुन्छ । सल्लाहको आधारमा काम हुन्छ । चेन अफ कमाण्डमा परिवार चल्छ । सबैलाई बराबरको हिस्सेदार बनाईने परम्परा रहेको हुन्छ । यो ठूलो संयुक्त परिवारको कुरा हो । तर एकल परिवारको अवधारणाका कारण घरमा कलह भई व्यक्तिहरु असाधारण सम्बन्धमा बाधिन थालेको पाइन्छ । चाहे घरानाका व्यक्ति हुन चाहे सानो झुपडीका । कामको बाडफाँड र सल्लाह नहुने भएपछि मान्छे एकहोरो हुन्छ । हाम्रो कानूनले परिभाषित गरेको जस्तो परिवार हराएर गैसकेको हुँदा संयुक्त परिवारले गर्दै आएको व्यवस्थापन गर्ने काम राज्यका निकायले समेत गर्न सकेका छैनन् । व्यक्ति मिलेर परिवार बन्छ भने परिवारको समष्टि समाज हो । समाज मिलेर राज्यको अवधारण विकास भएको हो । राज्यमा व्यक्ति सकिँदै जाने हो भने समाजका अन्य अवयवहरुले समेत भूमिका खोज्दै व्यक्ति सकाउने तर्फ जाँदा एउटा सिंगो परिवारलाई मात्र नभई सिंगो देशलाई असर पर्दछ । 

परिवार भनेकै राज्य हो राज्य भनेको परिवार हो । अहिले हत्या हिंसा दिनानुदिन बढ्दै गएका छन् । हरेक मानिस हिंसामा उत्रिएका उदाहरण प्रशस्तै छन् । तिनिहरुको चर्चा गरिँदैन । तर मानिस यति रुग्ण किन भइरहेको छ भन्ने कुराको थालनी कतैबाट भएको पाईंदैन । ग्लोबलाइजेशन तथा प्रविधिको विकासका कारण मानिसहरुले राम्रा असल काम भन्दा पनि खराब कामहरु बढि सिक्न थाले । त्यसको असर परिवारमा पर्न थाल्यो । परिवारमा लोग्ने स्वास्नी मात्र नभएर छोराछोरी समेत हुने हुँदा बच्चाको मनोविज्ञानमा समेत त्यसको असर पर्न गई बच्चा कुलतमा फस्दै गईरहेका उदाहरण थुप्रै पाउन सकिन्छ । दुधे ओठ नसुकेका साना नानीहरु ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्ड भन्दै काठमाडौंका डाँडातिर भई लागु औषध कारोबारीको शिकार भइरहेको कुरा हाम्रा अभिभावकले थाहा पाउँदैनन् । यसमा राज्यका निकायलाई समेत चेतना छैन । साना नानीहरुको मनोविज्ञानमा असर पर्दै जानु पनि परिवार भन्ने संस्थाको स्खलन नै हो । हिजो परिवार एउटा कमाण्डमा चल्थ्यो सबैले नैतिकताको आधरमा कमाण्डको पालना गर्थे । अहिले सबै कमाण्डर भए । कमाण्ड नमाने इगो बढ्दै जाने र अन्त्यमा इहलिला समेत समाप्त गर्ने प्रचलन बढ्दै गएको छ । यसले समाजमा दिनानुदिन नयाँनयाँ किसिमका देखिन मात्रै घटना परिघटना निकै पढ्न पाइन्छ । तर, भित्री दमितको कुनै हिसाब राखिदैन । नयाँ मुलुकी ऐेनले त परिवार प्रणाली नै ध्वस्त पार्ने गरी आएको देखिन्छ । त्यसमा विवाह पनि पर्छ भने अन्य पारिवारिक कानूनहरु पनि प्रभावित भएको पाइन्छ । 

मानसिक शान्तिको आवश्यकता महशुस भएको छ । प्रकृतिको रमणीय स्थानमा घुम्नु शान्ति होइन । वास्तविक शान्ति मन भित्रको निष्पट्ट शान्ति हो । मनलाई चुप लगाउन सक्नु हो । त्यसबाट मात्र वास्तविक शान्तिको अनुभुति हुन्छ । भगवान बुद्धका ५ शिलको पालना नै परिवार र समाजमा शान्तिपूर्ण माहोलको विकास गर्न सकिन्छ । अन्य कुनैपनि वादले यसको निकास दिन सक्ने देखिएन । हामी हिन्दु संस्कारभित्र हुर्केर के गर्नु त्यसलाई न अवलम्बन गर्न सकियो न त पालना नै गर्न सिकाए । मान्नेले पनि पालना नगरेपछि त्यो असफल भएको बुझिन्छ । तर, भगवान बुद्धका ५ शिलको पालना गर्नाले व्यक्ति, परिवार समाज र देशको भलो मात्र हुने देखिएको छ । त्यसको लागि शिल बुझ्न जरुरी छ । शिलले मानसिक शान्तिको विकास मात्रै गर्र्दैन मानिसलाई आध्यात्मिक यात्रामा पनि अघि बढ्न सिकाउँछ ।

पाँचवटा शिलमा के के पर्छन् ?

शिल नियम हो । त्यस्तो नियम जस्तो फुटवल खेलमा हुन्छ वा क्रिकेट खेलमा हुन्छ वा अन्य जुनसुकै कुराको नियम हुन्छ । हिन्दुका ऐन नियम छन् । क्रिश्चियनका पनि कमान्डमेन्टस छन् । त्यस्तै इस्लामका पनि आफ्नै नियम छन् । बुद्धिष्टले पनि शिललाई नै आफ्नो नियम मान्दछन् । देशको पनि नियम हुन्छ । मान्छेको पनि व्यवहारिक जीवनमा नियम हुन्छ । ती नियमले मान्छेलाई पनि वास्तवमा शान्ति दिन्छ । नबुझुन्जेल रिसको आवेगमा आएर गरेको कामले पनि एकछिनलाई आनन्द दिएपनि पछि पछुतो मात्र हुने हो । शिलको विषयमा यसरी जानकारी गराइएको छ । 

पञ्चशील धारण नै सबै देविदेवताको पूजा हो । सबै राक्षसी गुणको संहारक हो । मन स्वच्छताको मुहान हो । शिल पालना गर्नेको व्यवहारले नै मनुष्यको कोटी निर्धारण गर्छ । जन्मले ब्राह्मण भन्दा पनि आचरणले ब्राह्मण हुने हो । मानिसक शान्तिको प्रवाह पनि शिल हो । यसै शिलले नै मानिसको जीवनको गति निर्धारण गर्दछ । शिलवानको समीप नै तीर्थ हो । त्यसैले मानसिक शान्तिको द्योतक नै शिल हो ।
बुद्ध शासनमा शिलको निम्न गुणहरु रहेका छन् ।  

१.  सबै प्राणीहरु तपाईं हामी जस्तै मृत्युसँग भयभित हुन्छन् । जसरी हामी भयभित छौं । त्यसरी चाहे कमिला चाहे भुसुना । त्यसैले सबै प्राणीको हत्याबाट जोगिनु पर्छ । अर्थात हत्या हिंसा नगर्ने ।

२.  तपाईं हाम्रो सामान चोरी हुँदा तपाईंलाई हामीलाइ जसरी दुःख हुन्छ त्यसरी नै अरुलाई पनि हुन्छ । त्यस्तो अवस्थामा जसरी तपाईंको मन विकृत भएर आगो ओकलिन्छ अर्कोले पनि त्यसरी नै आगो ओकल्छ । सकिन्छ भने निर्बलहरुको लागि हाम्रो उपस्थितिले बल प्रदान गर्न सक्छ । त्यसैले चोरी नगरौं । 

३.  परस्त्री र परपुरुषसँगको संसर्गबाट विद्रोह पैदा हुन्छ । मन बिकृत भइ एकाग्र हुँदैन । कमजोर मनले गरिएको कार्यको परिणाम पनि कमजोर नै आउँछ । घरमा कलहले जन्म दिन्छ । कलह सहितको मनले गरिएको कार्यले पनि कलह नै निम्त्याउँन जान्छ । त्यसैले व्यभिचार गर्नु हुँदैन । 

४.  असत्य बचनले आफु र अरु दुवैलाई हानी गर्छ । अहिले मनमा आनन्द मिलेतापनि पछिको परिणाम खराब नै हुन्छ । सत्य मात्र बोल्ने गर्नु पर्छ । 

५.  कुनैपनि किसिमको नशालु पदार्थको सेवन वर्जित गर्नु पर्छ । यसै हामी बेहोसि हुन्छौ भने नशालु पदार्थबाट झन् बेहोसी हुन्छौ । नशाले लठ्ठ भएको बेलामा उब्जेको विचारको तरङ्ग झन कडा हुन्छ । यस्तो कडा       विचारले परिणाम ल्याउँदा डुंगामा रेखा बनाएको जतिको परिणाम ल्याउँछ । 

यो शिल यसै क्रममा भन्नु पर्छ र यसै क्रममा आचरण पनि गर्नु पर्छ । कुनैपनि साधनाको मूलभूत तत्व नै यहि हो । मन शुध्द बनाउन यो आचरण अनिवार्य छ । वास्तवमा शिलको अभ्यास गर्नेले कुनैपनि अपराध गर्न सक्दैन । शिल पालना गर्न न त पैसा लाग्छ न त कुनै समय नै । त्यसैले आफु र बच्चाहरुलाई शील पालना गर्न सिकाउनु भयो भने बच्चाको जन्मजन्मातर दुःख मुक्तिको मार्ग जान सक्ने मार्ग प्रशस्त रहन्छ । यो मानव जीवन मात्र जीवन होइन । अज्ञानमा जीवन गुमाइएको वा गुमाउन बाध्य बनाइएको छ । घरेलु हिंसाको कानून हुँदा पनि झनझन हिंसा बढ्नु सुखद होइन । कसैको झगडाले कसैलाई क्षणिक फाइदा त होला तर त्यसले चिर शान्ति दिँदैन । पाँच शिलले हाम्रा इन्द्रियमा विजय प्राप्त गर्न सक्ने क्षमता विकास गर्ने भएको हुँदा हामी सबै तृष्णाबाट दुर हुन्छौ र हामी हाम्रो पारिवारिक संस्थालाई पुनः जीवन दिन सक्ने भयांै भने भगवान बुद्धप्रति सहि मानेमा न्याय दिन सक्छौ की ।
 

ताजा खबर