आधा सुविधा घटाएर बार्सीलोनामै बस्ने भए मेसी

२०७८ असार ३१ बिहीबार ०९:३७:०० मा प्रकाशित

काठमाडौं । विश्व फुटवलका स्टार स्ट्राइकर लियोनल मेसी स्पेनिस क्लब बार्सीलोनामै रहने लगभग निश्चित भएको छ । मेसी र बार्सा सम्झौता थप गर्ने सहमती नजिक पुगेको स्पेनिस संचारमाध्यमले जनाएका छन् । क्लबले मेसीसँगको सम्झौता नवीकरणबारे छिट्टै आधिकारिक घोषणा गर्ने उल्लेख गरिएको छ । मेसी आफूले पाउँदै आएको सुविधा आधा घटाउन सहमत भएका छन् ।

मेसीको गत जुन ३० मा बार्सासँगको सम्झौता सकिएको थियो । जुन एक देखि मेसी फ्रि एजेन्ट बनेका थिए । मेसीले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्न लागेको बताइएको छ । यो सँगै अब मेसीको ट्रान्सफरलाई लिएर बाहिर आएका समाचारहरुको पनि अन्त्य भएको छ । मेसी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पिएसजी, इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा अमेरिकन फुटवल लिग जाने आंकलन गरिएका थिए । रिपोर्टका अनुसार ३४ वर्षिय मेसीलाई क्लबले एक सिजनको लागि १ सय २३ मिलियन पाउन्ड तलव दिदै आएको थियो । मेसी यो तलवमा ५० प्रतिशत कटौती गर्न राजी भएका हुन् ।

कोपा अमेरिका विजेता मेसी अहिले परिवारसँग विदा मनाइरहेका छन् । गत आइतबार मात्र उनले करियरमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधी जितेका हुन् ।  मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई एक शून्य गोलले हराएको थियो । ब्राजिलका नेइमारसँगै मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए ।

मेसीले बार्सासँग पछिल्लो पटक २०१७ मा सम्झौता नवीकरण गरेका थिए । क्याटालान क्लबका उच्च गोलकर्ता मेसीले अहिलेसम्म दश ला लिगा, चार च्याम्पियन्स लिग र सात कोपा डेल रे जितेका छन् । नयाँ अध्यक्ष जोहान लापोर्ताका लागि मेसीसँगको सम्झौता नवीकरण मुख्य सफलता हुनेछ । 

 

ताजा खबर