देउवा अझै दुई पटक प्रधानमन्त्री हुन बाँकी  

२०७८ असार ३० बुधबार १२:१८:०० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुर्पुरोमा लेखिएकै हो भने उनी अझै दुइपटक प्रधानमन्त्री हुनेछन् । भानुजयन्तिका दिन उनी पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका छन् । यसपटक देउवाको भाग्यको ढोका सर्बोच्च अदातलको संवैधानिक इजलाशबाट खुलेको छ । अरु दुइ पटक कसरी उनी प्रधानमन्त्री बन्ने छन् त्यो छैठीमा भाग्य लेख्ने विधातालाई मात्र थाहा छ ।

यतिबेला काङ्ग्रेसीहरू नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई  बधाई दिने होडबाजीमा छन् । यो अस्वभाविक कुरा पनि होइन । आफ्नो नेताले देशको कार्यकारी भूमिका पाउँदा नेता कार्यकर्ताले उत्सव मनाउनुलाई अन्यथा मान्न पनि हुँदैन । आगामी केही दिनहरु वधाई र शुभकामनाको उत्सवमा बित्ने छन् ।

काङ्ग्रेसजनलाई हेक्का हुनुपर्छ देउवा काङ्ग्रेस संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका होईनन् ।  उनी प्रतिनिधिसभा सदस्यका हैसियतमा अघि सरेर माओवादी अध्यक्ष प्रचण्ड, एमालेका विद्रोही नेता माधब नेपाल र जनता समाजवादी दलका नेता उपेन्द्र यादवको समर्थनमा सरकारको नेतृत्व लिन सफल भएका हुन् । तर धेरैले यस कुरालाई बुझेको जस्तो लाग्दैन । कतिपय राजनीतिक विश्लेषकले यो सरकारलाई सम्भवत २०५४ तिरको वामदेव गौतमको छाँयामुनीको लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकार भन्दा पनि कमजोर हुने टिप्पणी गरेका छन् । देउवाले भर्खरै नयाँ सरकारको नेतृत्व गर्दै शपथ लिएका हुनाले बिगतको भन्दा फरक तरिकाले सरकार सञ्चालन हुँदैन भनेर ठोकुवा गरिहाल्न हतार हुन्छ । तर इतिहास उत्साहजनक नभएकाले टिप्पणी गर्नेहरुलाई मसला मिलेको छ ।

सकेको भए कांग्रेसले यो सरकारमा जान नहुने तर्क पनि गरिएको छ, यो पाँच वर्ष प्रतिपक्षमै बसेर निर्वाचनमा जाँदा काङ्ग्रेसलाई राजनीतिक लाभ हुने र त्यसले लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने कांग्रेसका शुभेच्छुकहरुको सुनिन्छ । तर अब समय अघि बढिसकेको छ । राम्रो काम गरेर सरकार र पार्टीको छवि उजिल्याउने अवसर भने छ ।

पाँच विपक्षी दलका नेताहरु प्रचण्ड र माधव कुमार नेपालको नियन्त्रणको पात्र बन्नबाट प्रधानमन्त्री ओली कसरी जोगिएलान् भन्ने तर्फ कांग्रेसजनले समेत चिन्ता गर्नुपर्ने र सतर्क रहनुपर्ने देखिन्छ । पुनस्थापित प्रतिनिधिसभामा आफ्नो दलको भन्दा दोब्बर बढी जस्तो सांसद विपक्षी बेन्चमा बस्छन् भन्ने कुरालाई प्रधानमन्त्री देउवाले कहिल्यै पनि बिर्सन मिल्दैन ।

देउवाको विगतको कार्यकाल देशमा अस्थिरता र अशान्तिमा नै बितेको भनेर आलोचना हुने गरेको छ । देउवा पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यही समयमा नेपालमा हिंसात्मक द्वन्द्वको बिउ रोपियो र माओवादी सशस्त्र युद्धमा गयो । संयोगले आज त्यही माओवादीको साथ लिएर देउवाले प्रधानमन्त्रीको शपथ समेत लिईसकेका छन् ।

२०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म देउवा दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरे । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेस पार्टीमा कलह भयो । देउवाकै कारण नेपाली कांग्रेस पार्टी २०५९ सालमा विभाजित नै भयो र बन्यो प्रजातान्त्रि कांग्रेस ।

देउवा २०६१ सालको जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । उनको तेस्रो कार्यकाल अझ दुःखद रह्यो । राजा ज्ञानेन्द्रले देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पदबाटै बर्खास्त गरिदिए । देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भए ।

अहिले पाचौँ पटक उनी प्रधानमन्त्री नियुक्त भएका छन् । यसपटक पनि उनी जनादेशबाट होइन सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएका छन् ।

विश्वको इतिहासमै लोकतान्त्रिक शासन व्यवस्थामा अदालतको आदेशबाट प्रधानमन्त्री हुने देउवा सम्भवतः पहिलो प्रधानमन्त्री हुन् । 

देउवाको विगतको भन्दा यस पटकको यात्रा अझ चुनौतीपूर्ण छ । माओवादी र जसपाको उपेन्द्र समूहलाई त उनले मिलाएर लिएर जानै पर्ने छ । त्यसमाथि उनलाई समर्थन गरेको एमालेको माधव नेपाल समूहले अब साथ नदिने बताएकोले उनी प्रधानमन्त्री नियुक्त हुनुअघि नै अल्पमतमा परिसकेको देखिन्छ । यस्तो अवस्थामा उनको अबको यात्रा विगतको भन्दा अझ असहज र जटिल हुने देखिन्छ ।

देउवाले पाँच दलीय मोर्चाको समर्थन आफ्नो पक्षमा बनाईराख्न सकेमात्र उनले बाँकी अवधि सरकारको नेतृत्व गर्न पाउने छन् । अन्यथा अस्थिर राजनीतिको एक पात्रका रुपमा मात्र उनको नाम अभिलेख हुने छ ।

नवनिर्वाचित प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको समर्थन लिएर बाँकी अवधि सरकारको नेतृत्व लिन सफल होउन्, शुभकामना ।
 

ताजा खबर