आयरल्यान्डलाई ऐतिहासिक सफलता

२०७८ असार ३० बुधबार ११:२४:०० मा प्रकाशित

काठमाडौं । कप्तान एन्ड्रिउ बालबिर्नीले शतकीय पारी खेलेपछि आयरल्यान्डले दक्षिण अफ्रिका माथि ऐतिहासिक जीत हात पारेको छ । आयरल्यान्डले विश्वकप सुपर लिग अन्तर्गतको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको हो । कुनैपनि फरम्याटको क्रिकेटमा आयरल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

आरयल्यान्डले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ३ वलमा २ सय ४७ रनमा अल आउट भयो । उसका लागि जान्नेमन मलानले ८४ र  रस्सी भान डेर डुसेनले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डका वलरले निकै अनुशासित वलिङ गरेका थिए । डेविड मिल्लरले २४ र कागिसो राबडाले १६, रन जोडे । मार्क एडियर, जोश लिटिल, एन्डी मेक्बिर्नीले २–२ विकेट लिए ।

यसअघि डब्लिनमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय ९० रनको योगफल बनाएको थियो । ओपनर पल स्र्टलिङ २७ रनमा नै आउट भएका थिए । तर  एन्ड्रिउले १ सय २ रनको उत्कृष्ट पारी खेले । १ सय १७ वलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरेका थिए । हेरी टेक्टरले ६८ वलमा ७९ रनको योगदान गरे । जर्ज डकरेलले ४५ रन जोडे । एन्डिल फेलुकवायोले २ विकेट लिए । जीतपछि आयरल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो एकदिवसीय वर्षाका कारण रद्ध भएको थियो ।   
 

ताजा खबर