टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने जिम्मेवारी पौडीबाज गौरिकाको काँधमा

२०७८ असार ३० बुधबार ११:१३:०० मा प्रकाशित

काठमाडौं । टोकियो ओलम्पिको उद्घाटन समारोहमा हुने मार्च पासमा नेपालको झन्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटीले नेपालको झन्डा दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता गौरिकाले बोक्ने जानकारी दिएको हो । 

१८ वर्षिया गौरिकाले टोकियो ओलम्पिकमा एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । यो उनको लगातार दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि सन् २०१६ को रियो ओलम्पिकमा १३ वर्षकी गौरिकाले ओलम्पिक खेल्ने सवैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन् । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं सागमा गौरिकाले कीर्तिमानी चार स्वर्ण पदक जितेकी थिइन् । टोकियो ओलम्पिकमा पौडीकै एलेक्स शाहले एक सय मिटर फ्रि स्टाइलमा नै नेपालको प्रतिनिधित्व गर्नेछन् । दुवै खेलाडी टोकियो पुगीसकेका छन ।

नेपालबाट तीन खेलका पाँच खेलाडी ओलम्पिकमा सहभागी हुँदैछन् । सुटिङकी कल्पना परियारले दश मिटर एयर राइफलमा भाग लिनेछिन् । जुडोकी सोनिया भट्टले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । एथ्लेटिक्सकी सरस्वती चौधरीले एक सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

म्याराथनमा गापी चन्दै पार्की जाने भनिएपनि अन्तिम समयमा उनको स्थानमा सरस्वतीले स्थान बनाएकी हुन् । टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी र २१ पदाधिकारी गरेर कुल ३६ सदस्य टोली टोकियो जानेछ । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट नै सहभागिता सुरु गरेको थियो । कोरोनाका कारण अन्य देशलहले तयारीमा असर गरेको बताइरहेका छन । तर नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने नेपालको यो अहिलेसम्मकै उत्कृष्ट ओलम्पिक तयारी रहेको दाबी गरे ।

यस्तै यसअघि ओलम्पिक जाने बेला जात्रा हुने गरेको बताएका उनले यस पटक यात्रा सुरु भएको भनाइ राखे । अर्थात् यसअघि ओलम्पिक र एशियाली खेलकुद प्रतियोगिता जानु अघि विवाद हुने गरेको तर यसपटक सभ्य ढंगले तयारी भएको श्रेष्ठले उल्लेख गरे ।

टोकियो ओलम्पिक २३ जुलाइ देखि ८ अगस्टसम्म हुँदैछ ।

ताजा खबर