देशका सबै जिल्लामा खोप लगाईं, परिचयपत्र अनिवार्य

२०७८ असार २९ मंगलबार ०९:५८:०० मा प्रकाशित

काठमाडौं । आजदेखि ७७ वटै जिल्लामा कोभिड विरुद्धको खोपको पहिलो डोज लगाईंदैछ ।

चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले धमाधम खोप ल्याउन थालेपछि देशैभर लक्षित समूहलाई खोप लगाउन थालिएको हो ।

भेरोसेल खोप ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ ।दविश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि भेरोसेल खोप नै दिइने मन्त्रालयले जनाएको छ । सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपांगता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुटेका सबै जनालाई पनि सोही खोप लगाइनेछ । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । सो खोपको १५ लाख ३४ हजार डोज अमेरिकाबाट सोमबार मात्रै नेपाल आइपुगेको थियो ।

भेरोसेल खोप भने सरकारले चीनसँग किनेको हो । खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जान लक्षित समूहलाई मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म नेपालमा कुल जनसंख्याको ८।८ प्रतिशत अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो डोज र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो डोज खोप लगाइसकेका छन् । चीनले अझै थप खोप सहयोग गर्ने बताइसकेको छ ।

ताजा खबर