नोभाक बने २०औं ग्रान्डस्लाम बिजेता

२०७८ असार २८ सोमबार १२:३६:०० मा प्रकाशित

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले करियरको २० औं ग्रान्डस्लाम जितेका छन् । विम्बल्डनको फाइनलमा सातांै वरियताका इटालियन माटियो बेरेटेनीलाई चार सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । उनको यो छैटौ विम्बल्डन उपाधी हो । योसँगै उनले रोजर फेडेरर र रफायल नाडालसँग ग्रान्डस्लाम कीर्तिमन बराबरी गरेका छन् । स्वीस खेलाडी फेडेरर र स्पेनिस नाडालले समान २०–२० पटक ग्रान्डस्लाम जितेका छन् ।

लन्डनस्थित अल इङल्यान्ड क्लबमा भएको फाइनलमा ३४ वर्षिय सर्वियन एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । उनले पहिलो सेट टाइब्रेकरमा ६–७ ले गुमाएका थिए । ५–२ अंकको अग्रता लिएपनि २५ वर्षिय बेरेटेनीले उत्कृष्ट पुनरागमन गर्दै सेट जितेका थिए । तर उनले यसको फाइदा लिन नसक्दा करियरको पहिलो ग्रान्डस्लाम जित्नबाट चुके । १५ हजार दर्शक बीच लगातार तीन सेट जितेपछि जोकोभिच च्याम्पियन बने । उनले ६–४, ६–४, ६–३ को जीतका साथ विम्बल्डन उपाधी उचाले ।

जोकोभिचले बेरेटेनीले उत्कृष्ट टेनिस खेलेको भन्दै उनको भविष्य सुन्दर रहेको प्रतिृकया दिएका थिए । जोकोभिच एक क्यालेन्डर वर्षमा चारै ग्रान्डस्लाम जित्नबाट मात्र एक उपाधीले पछि छन् । यदि युएस ओपन जिते उनले यो सफलता पनि हात पार्नेछन् । यो वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन  र फ्रेन्च ओपन  पनि जितेका  थिए । एकै वर्ष  तीन मुख्य प्रतियोगिताको उपाधी जित्ने जोकाभिच समग्रमा पाँचौ र ओपन एरामा केवल दोस्रो खेलाडी हुन् । यसअघि १९६९ मा रोड लेभरले सिजनको सुरुवातमा तीन ग्रान्डस्लाम जितेका थिए । युएस ओपन जिते जोकोभिच लेभर पछि चार ग्रान्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बन्नेछन ।

फेडेरर र नाडालसँग कीर्तिमनी बराबरी गरेपछि जोकोभिचले उनीहरुकै कारण आफु यो स्थानसम्मको आएको बताए । टेनिसका दुइ महान खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नका लागि सदैव प्ररित गर्ने उनको भनाइ थियो । जोकाभिच गोल्डेन स्लामको पनि एक्दमै नजिक छन । उनले टोकियोमा स्वर्ण र युएस अ‍ोपन जिते गोल्डेन स्लाम पुरा गर्ने पहिलो पुरुष खेलाडी बन्नेछन । यसअघि जर्मनीकी स्टेफी ग्राफले १९८८ गोल्डेन स्लाम पुरा गरेकी थिइन् । तर जोकोभिचल टोकियोमा भाग लिने नलिनेमा भने शंका ब्यक्त गरे । टोकियोमा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्नेमा ५०–५० प्रतिशत रहेको उनको भनाइ छ । 

ताजा खबर