डोनारुम्मा युरोको सर्वोत्कृष्ट खेलाडी, गोल्डेन बूट रोनाल्डोलाई

२०७८ असार २८ सोमबार १२:२२:०० मा प्रकाशित

काठमाडौं । इटालीलाई युरोकप उपाधी जिताउन महत्वपूर्ण भुमिका खेलेका गोलकिपर जानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । २२ वर्षिय डोनारुम्माले फाइनलमा शानदार प्रदर्शन गरेपछि इटालीले इङल्यान्डलाई पेनाल्टिमा ३–२ ले पराजित गरेपछि इटालीले सन १९६८ पछि युरो उपाधी जितेको थियो । उनले इङल्यान्डका जोडन सान्चो र बोकायो साकाको पेनाल्टि बचाएका थिए । उनलाई युएफाको टेक्निकल टिमले सर्वोत्कृष्ट चुनेको हो । डोनारुम्मा सेमीफाइनलमा स्पेन विरुद्ध पेनाल्टिमा जीत हात पार्दा पनि नायक सावित भएका थिए । डोनारुम्मा र इटालीले युरोको समूह चरणमा एक गोल पनि खाएको थिएन । उनलाई अन्तिम १६ मा अस्ट्रियाले गोल गरेको थियो । जुन एक हजार भन्दा बढी मिनेटमा इटालीले खाएको पहिलो गोल थियो । जारी युरोमा ७ खेलमा ७ सय १९ मिनेट खेलेका डोनारुम्माले ३ क्लिनसिट राख्दै मात्र ४ गोल खाएका थिए । नौ प्रहारको बचाउ गरे ।

गोल्डेन बुट रोनाल्डोलाई

पोर्चगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० मा गोल्डेन बुट जितेका छन् । उनले युरोमा कुल ५ गोल गरेका थिए । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भने युरोकपको अन्तिम १६ बाट नै बाहिरिएको थियो । पोर्चुगल नकआउट चरणमा बेल्जियमसँग पराजित भएको थियो । रोनाल्डोले पाँचै गोल समूह चरणमा गरेका  थिए । उनले तीन गोल पेनाल्टी र दुइ गोल ओपन प्लेमा गरेका थिए । चेक रिपब्लिकका पेट्रिक सिकले पनि पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एसिस्ट बढी गरेका कारण गोल्डेन बुट जितेका हुन् ।

इङल्यान्डका हेरी केन, फ्रान्सका करिम बेन्जिमा, स्विडेनमा एमिल फर्सबर्ग र बेल्जियमका रोमेलु लुकाकुले ४–४ गोल गरे ।  

 युवा खेलाडी पेड्री

स्पेनका पेड्रि युरो २०२० को उत्कृष्ट युवा खेलाडी बनेका छन् । १८ वर्षिय पेड्रीले युरोमा ६ खेल खेलेका थिए । स्पेन युरोको सेमीफाइनलमा इटालीसँग पेनाल्टिमा पराजित भएको थियो । उनले जारी युरोमा गरेको प्रदर्शनलाई सवैले प्रशंसा गरेका  थिए । स्पेनिस प्रशिक्षक लुइस इनरिकेले, १८ वर्षको उमेरमा पेड्रीले जुन किसिमको प्रदर्शन गरे त्यस्तो अरु कसैलेपनि नसक्ने भन्दै तारिफ गरेका थिए । आन्द्रेस इनिएस्टाले पनि पेड्रिले जस्ते खेल्न नसकेको उनको भनाइ थियो । सन १९९८ जनवरी एक पछि जन्मिएक खेलाडी यो अवार्डको लागि योग्य हुन्छन् । २०१६ मा पोर्चुगलका रेनातो सान्चेजले पाएका थिए । 

ताजा खबर