सकियो युरोकप: इटालीले घरेलु मैदानमै इङल्यान्डलाई जित्यो

२०७८ असार २८ सोमबार १०:०५:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै इटालीले युरोकपको उपाधी जितेको छ । इटाली दोस्रो पटक युरो च्याम्पियन बनेको हो ।

यसअघि उसले सन १९६८ मा उपाधी जितेको हो । इङल्यान्डको ५५ वर्षपछि मुख्य प्रतियोगिताको उपाधी जित्ने सपना फेरि एक पटक इटालीले चकनाचुर पारिदियो । इटालीको जीतमा गोलकिपर जानलुइजी डोनारुम्मा नायक सावित भए । उनले इङल्यान्डका दुइ खेलाडीको पेनाल्टी विफल पारिदिए । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी भएको थियो ।

घरेलु समर्थक बीच वेम्बली स्टेडियममा इङल्यान्डले लिएको अग्रता उल्ट्याउँदै रोबर्टो मान्सिनीको टोली विजेता बनेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै लुक सअको आकर्षक गोल मार्फत इङल्यान्डले अग्रता लिएको थियो । उनले १ मिनेट ५६ सेकेन्डमा गोल गरेका हुन् । युरो फाइनलमा भएको यो सवैभन्दा छिटो गोल हो । पहिलो हाफमा इटालीले खासै गोलको खतरनाक मुभ बनाउन सकेन । तर ६७औं मिनेटमा लियोनार्दो बनुचीले गोल गर्दै खेल बराबरी गरेपछि इटाली खेलमा फर्किएको थियो । ३४ वर्ष ७१ दिनका बनुची युरो फाइनलमा गोल गर्ने सवैभन्दा बढी उमेरका खेलाडी हुन् । 

मार्को भेरातीको हेडर इङल्यान्ड गोलकिपर जोर्डन पिकफर्डले पञ्च गरेका थिए । सोही वलमा बनुचीले गोल गरेपछि खेलले रोमाञ्चक मोड लिएको थियो । ९० मिनेट र थप गरिएको ३० मिनेटमा गोल हुन नसकेपछि खेल पेनाल्टिमा गएको थियो । जहाँ इङल्यान्डले पाँचमध्ये मात्र दुइ पेनाल्टिलाई गोलमा परिणत गर्यो । इटालियन गोलकिपर डोनारुम्माले इङल्यान्डका बोकायो साका र जोडन सान्चोकोे पेनाल्टिको उत्कृष्ट बचाउ गरे । मार्कस ¥यासफर्डको प्रहार पोस्टमा लाग्यो । ¥यासफर्ड, सान्चो र साका सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । प्रशिक्षक ग्यारेग साउथगेटले र्यासफर्ड र सान्चोलाइ पेनाल्टिकै लागी १ सय २० मिनेटमा मैदान पठाएका पथए । तर उनको निर्णयमा दुवै खेलाडीले न्याय गर्न सकेनन् । हेरी केन र हेरी मग्वावेरले पेनाल्टिलाई गोलमा परिणत गरेका थिए । गोलकिपर पिकफर्डले आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार बचाउँदै इङल्यान्डको आशा जगाएका थिए । तर डोमिनिको बेरार्दी, बनुची र फेडेरिको बेर्नाडेसीले पेनाल्टिलाई गोलमा परिणत गरेपछि वेम्बलीमा उपस्थित ६७ हजार घरेलु दर्शक स्तब्ध बनेका थिए । इङल्यान्ड घरेलु मैदानमा पहिला युरो उपाधी उचाल्ने लक्ष्यमा थियो ।

यसअघि १९६६ मा वेम्बलीमा नै विश्वकप उपाधी जितेयता इङल्यान्डको यो पहिलो फाइनल थियो ।

इटालीको भने १५ वर्षको अन्तरमा यो दोस्रो ठुलोे प्रतियोगिताको उपाधी हो । यसअघि उसले २००६ मा विश्वकप जितेको थियो । २०१८ को विश्वकपमा छनोट हुन नसकेको  इटाली ३४ खेल यता अपराजित छ । इटाली एकै युरोमा दुइ पेनाल्टि सुटआउटमा जीत हात पार्ने पहिलो टोली हो । उसले सेमीफाइनलमा स्पेनलाई पेनाल्टिमै हराएको थियो । 

ताजा खबर