युरोकप रोम जान्छ कि लण्डन: आज हुने फाईनल खेल र प्रतिष्पर्धी टिमको चर्चा

२०७८ असार २७ आइतबार १२:०६:०० मा प्रकाशित

काठमाडौं । युरोकपको उपाधीका लागि आज राती इङल्यान्ड र इटालीबीच कडा प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरु हुनेछ । 

पहिलो पटक युरोकपको फाइनल पुगेको इङल्यान्डको खेल हेर्न वेम्बलीमा ६० हजार भन्दा बढी घरेलु समर्थक वेम्बलीमा उपस्थित हुने अपेक्षा गरिएको छ । इटालीले यसअघि सन् १९६८ मा युरो उपाधी जितेको थियो । २०१८ को रुस विश्वकपमा छनोट हुन असफल इटाली चौथो युरो फाइनल खेल्दैछ । 

युरोपियन च्याम्पियनसिप विश्वकप पछि सवैभन्दा बढी हेरिने फुटवल प्रतियोगिता हो । २०१६ को युरोले दुइ बिलियन भन्दा बढी टेलिभिजन दर्शक आकर्षित गरेको युरोपियन फुटवल महासंघले बताएको थियो । महामारी  बीच भएको यस पटकको युरोमा अझ बढी दर्शकले खेल हेरेको अनुमान गरिएको छ ।

इङल्यान्ड र इटालीको इतिहास

इटाली र इङल्यान्डले पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए । मार्चमा भएको सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । तर यी दुइ  ८२ वर्षदेखि एक अर्काका प्रतिस्पर्धी हुन् । पहिलो पटक १९३३ मा रोममा भएको पहिलो भेट एक एकको बराबरीमा सकिएको थियो । त्यसपछिका चार दशक इङल्यान्ड लगातार इटाली माथि हाबी भयो । उसले १९७३ सम्म इटालीसँग एक खेल पनि हारेन । त्यसयता भने इटालीको रेकर्ड इङल्यान्ड भन्दा माथि छ । अहिलेसम्म मुख्य प्रतियोगितामा इटाली इङल्यान्डसँग पराजित भएको छैन । इटालीले १९८० को युरोमा १–०, १९९० र २०१४ को विश्वकपमा २–१ र २०१२ को युरोमा १–१ गोलको बराबरीमा भएपछि पेनाल्टिमा ४–२ ले हराएको थियो । समग्रमा इटाली–इङल्यान्ड २७ पटक आमनेसामने भएका छन् । जसमा इटालीले ११ र इङल्यान्डले ८ खेल जित्दा ८ खेल बराबरीमा सकिएको थियो ।

जारी युरोमा इटालीले खेलेका सवै ६ खेलमा जीत हात पारेको छ । जसमा उसले १२ गोल गर्यो । ३३ खेलदेखि अपराजित इटालीले युरोको छनोट र फाइनल चरणमा गरेर १५ खेल यता हार बेहोरेको छैन । रोबर्टो मान्सिनीको टोलीले अन्तिम १६ मा अस्ट्रियालाई २–१ , क्वाटरफाइनलमा फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्ज्जियमलाई २–१ र सेमीफाइनलमा स्पेनलाई पेनाल्टिमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उसको यो दशौं मुख्य प्रतियोगिता फाइनल हो । यसअघि उसले २००२ र २०१२ मा उपविजेतामा चित्त बुझाएको थियो ।

इङल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल खेल्दैछ । यति लामो समयको अन्तरालमा फाइनल खेल्ने इङल्यान्ड पहिलो युरोपियन देश हो । उसले अन्तिम १६ मा जर्मनीलाई २–०, क्वाटरफाइनलमा युक्रेनलाई ४–० र सेमीफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ग्यारेथ साउथगेटको टोली युवा खेलाडीका साथ युरोमा सहभागी भएको हो । उसका लागि स्ट्राइकर हेरी केन र रहिम स्र्टलिङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन ।

कोरोना भाइरसका कारण एक वर्ष ढिलो सुरु भएर अन्तिम खेल हुँदै गरेको युरोकप रोम जान्छ कि लण्डन ? सोमबार बिहानै यसको छिनाफानो हुने छ । 

ताजा खबर