आस्ली बार्टीले पहिलो पटक जितिन विम्बल्डन उपाधि

२०७८ असार २७ आइतबार ११:५६:०० मा प्रकाशित

काठमाडौं । शीर्ष वरियताकी आस्ली बार्टीले पहिलो पटक विम्बल्डन टेनिसको उपाधी जितेकी छिन् । बार्टीले फाइनलमा चेक खेलाडी क्यारोलिना पिल्सकोभालाई तीन सेटमा हराएर करियरको दोस्रो ग्रान्डस्लाम हात पारिन् । २५ वर्षिय बार्टी, महिला एकल  तर्फ विम्बल्डन जित्ने ४१ वर्ष यताकी पहिलो अस्ट्रेलियन हुन् ।

यसअघि सन् १९८० मा इभोन गोलागोङले अल इङल्यान्ड क्लबमा उपाधी जितेकी थिइन् । उनी बार्टीकी आइडल खेलाडी हुन् । उपाधी जितेपछि बार्टीले इभोनलाई गौरव महसुस गराएको विश्वास ब्यक्त गरिन् । बार्टीले आफ्नो जीतलाइ चमत्कार भनेकी छिन् । उनले १५ वर्षको उमेरमा विम्बल्डनमा गल्र्स सिंगल टाइटल जितेको १० वर्षपछि सिनियरमा सफलता हात पारेकी हुन् ।  फाइनलमा उनले पिल्सकोभलाइ पहिलो सेटमा ६–३ ले पराजित गरेकी थिइन् । दोस्रो सेटमा पिल्सकोभा खेलमा फर्किइन् । उनले  यो सेट टाइब्रेकरमा ७–६ ले जितिन् । तर तेस्रो सेट बार्टीले ६–३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनिन् । उनले २०१९ मा युएस ओपन जित्दै करियरको पहिलो ग्रान्डस्लाम हात पारेकी थिइन् ।

३७ दिन अघि सम्म पनि उनी चोटसँग संघर्ष गरिरहेकी थिइन् । सोही कारण उनले गत महिना भएको फ्रेन्च ओपन खेलिनन् । पिल्सकोभाको करियरको पहिलो ग्रान्डस्लाम उपधाी जित्ने सपना तत्तकालका लागि अधुरै रह्यो । उनी यसअघि २०१६ मा युएस ओपन फाइनल पुगेकी थिइन् । १९७७ यता पहिलो पटक विम्बल्डनमा महिला तर्फ पहिलो उपाधीका लागि प्रतिस्पर्धा भएको थियो ।

ताजा खबर