थप विपत्ति रोक्न मेलम्ची र इन्द्रावती क्षेत्रमा क्षमा पूजा गर्नैपर्ने एक विज्ञको सुझाव

२०७८ असार २६ शनिबार १३:२७:०० मा प्रकाशित

 काठमाडौं । मेलम्ची र इन्द्रावती नदी क्षेत्रमा क्षमा पूजा नगरी उत्खनन् गरिएकाले प्राकृतिक विपत्ति आएको एकजना जानकारले बताएका छन् । ज्योतिष र तन्त्र विद्याका जानकार विज्ञका अनुसार, मेलम्ची र इन्द्रावती नदी क्षेत्रलाई नागहरुको वासस्थान मानिन्छ । ती क्षेत्रमा देवीदेवता र नागहरुको चित्र अंकित कैयौं विभिन्न आकृतिका ढुंगा पाईन्छन् । तर मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सुरु गर्दा त्यहाँ कुनै पनि किसिमको पूजा अर्चना नगरिएको र खासगरी क्षमापूजा नगरेकाले प्राकृतिक विपत्ति आईपरेको ती विज्ञले सरल पत्रिकासँग बताएका छन् । मनपरी तरिकाले पहाड र नदी क्षेत्र ध्वस्त पार्दा विभिन्न अमूल्य आकृतिका पत्थरहरु पुरिएको पनि उनले बताए ।

पशुपति क्षेत्रमा बसोबास गर्ने ती विज्ञले आफ्नो नाम उल्लेख गर्न नचाहे पनि सिन्धपाल्चोक क्षेत्रमा निरन्तर भैरहेको प्राकृतिक विपत्ति र मानवीय क्षतिको कारण सबैले थाहा पाउन जरुरी भएको बताए । यसअघि गएको सुख्खा पहिरो, भूकम्पमा भएको ठूलो क्षति, भोटेकोशी थुनिनु र अपत्यारिलो तरिकाले उच्च पहाडी क्षेत्रबाट लेदोसहितको मेलम्ची र इन्द्रावतीमा बाढी आएर ठूलो जनधनको क्षति हुनुको मुख्य कारण नै नागको वासस्थान विथोलिनु रहेको ती विज्ञको भनाई छ । उनी यतिबेला तीन महिने पुनस्चरण साधनामा बसेका छन् । बिहान सरल पत्रिकासँग कुरा गर्दै उनले नागरिक तहबाट भए पनि क्षमा पूजा गरेर भड्किएका नाग र स्थानीय शक्तिपीठहरुको बासस्थानको वैकल्पिक स्थान खोजेर पूजाआजा र क्षमा पूजा गर्न ढिलाई गर्न नहुने बताए । 

नागको बसोवास रहेका क्षेत्रमा बिकास निर्माण गर्न आवश्यक भएमा पनि सुरुमा क्षमापूजा गर्न अत्यावश्यक हुने उनको भनाई छ । यही स्थिति यथावत रहेमा सिन्धुपाल्चोक क्षेत्रमा थप प्राकृतिक विपत्ति आउन सक्ने उनले चेतावनी पनि दिएका छन् । सिन्धुपाल्चोक क्षेत्रमा थप विपत्ति आएर जनधनको क्षति हुन नपाओस् भनेर नै आफूले क्षमा पूजा गरी पुनस्चरण व्रत बसेको उनको भनाई छ ।


 

ताजा खबर