कोरोनाले लावती दम्पतिको एकैदिन ज्यान लियो

२०७८ असार २५ शुक्रबार ११:१७:०० मा प्रकाशित

मंगलबारे । कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । मांसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको ज्यान गएको    हो ।

 श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना ससंक्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो ।

एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो मांसबुङ स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेशनमा छन् । 

६ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ । 

इलाममा बिहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या दुई हजार एक सय ४४ पुगेको छ । संक्रमितमध्ये एक हजार सात सय २१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर तीन सय ७१ संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा संक्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।

सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि संक्रमण बढ्न थालेको हो । रासस

ताजा खबर