युरो कप: उपाधी हत्याउन इङल्यान्ड र इटालीवीच प्रतिष्पर्धा

२०७८ असार २४ बिहीबार ०९:४८:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले ५५ वर्ष लामो प्रतिक्षाको अन्त्य गर्दै मुख्य प्रतियोगिताको फाइनल स्थान बनाएको छ । इङलिस टोली डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै पहिलो पटक युरोकपको उपाधी नजिक पुगेको हो । इङल्यान्डले यसअघि मात्र एक पटक सन् १९६६ को विश्व कप फाइनल खेलेको थियो । त्यसवेला तत्कालिन पश्चिम जर्मनीलाई पराजित गरेर विश्व च्याम्पियन बने यता इङल्यान्ड उपाधी विहिन छ ।

घरेलु मैदान वेम्बलीमा ६६ हजार समर्थक माझ इङल्यान्डले डेनमार्कको १–० गोलको अग्रता उल्ट्याएको थियो । ३० औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रि किक मार्फत सुन्दर गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो सयम टिकेन् । ३९ औं मिनेटमा इङल्यान्डले आत्मघाती गोल मार्फत खेल बराबरी गर्यो । बोकायो साकाको क्रसलाई रोक्ने प्रयास गर्दा डेनिस कप्तान सिमोन कायरले आफ्नै पोस्टमा गोल गर्न पुगे । डेनिस गोलकिपर कास्पर स्माइकलले उत्कृष्ट प्रदर्शन गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । उनले हेरी केन र हेरी मग्वायरको प्रहारलाई सफल हुन दिएनन् ।

१ सय ४ मिनेटमा केनले गोल गरेपछि इङल्यान्डले फाइनलमा इटालीसँगको भेट पक्का गर्यो । डेनमार्कका योकिम मेहेलले रहिम स्र्टलिङलाई फाउल गरेपछि इङल्यान्डले पेनाल्टि पायो । केनले पेनाल्टी प्रहार गरे तर उनको प्रहार गोलकिपर स्माइकलले रोकिदिए । सोही रिबाउन्ड वलमा केनले गोल गरेपछि इङल्यान्ड दुइ एकले अघि रहेको थियो । यहि नतिजा अन्तिमसम्म कायम भएपछि इङल्यान्ड पहिलो पटक युरोको फाइनलमा प्रवेश गर्यो । केनले मुख्य प्रतियोगितामा ग्यारी लिनेकरको दश गोलको किर्तिमान बराबरी गरे । इङल्यान्ड गोलकिपर जोर्डन पिकफर्डले  पनि  ७ सय २१ मिनेटसम्म गोल नखाँदै नयाँ कीर्तिमन बनाएका छन् ।

यसअघि १९६६ मा गोर्डोन बेङकसले ७ सय २० मिनेट क्लिन सिट राखेका थिए । इङल्यान्डले पहिलो पटक युरोको नकआउटमा पछि परेको स्थितिबाट खेल जितेको हो । हारका बाबजुद डेनमार्कले जारी युरोमा तारिफयोग्य प्रदर्शन गर्यो । पहिलो खेलमा नै क्रिस्टियन एरिसक्नले मैदानमै कार्डियाक अरेस्ट भएपछि युरो गुमाएका थिए । भावनात्मक रुपमा कमजोर बनेको डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै २९ वर्षपछि युरोको सेमीफाइनलमा स्थान बनाएको थियो ।

अब उपाधीका लागि आइतबार राती वेम्बलीमै इङल्यान्ड र इटाली आमने सामने हुनेछन् । 

ताजा खबर