झण्डै सय वर्ष बाँचेर विदा भए ‘ट्रेजेडी किङ’

२०७८ असार २३ बुधबार १०:२४:०० मा प्रकाशित

काठमाडौं। झण्डै एक शताव्दिको अर्थपूर्ण जीवन बाँचेर प्रसिद्ध बलिउड अभिनेता दिलीप कुमारले बुधबार बिहान संसार छाडेका छन् । उनको ९८ वर्षको उमेरमा निधन भएको हो । दिलिपकुमारको हिन्दुजा अस्पतालमा उपचार भैरहेको थियो ।
 
उनी केही सातायता बिरामी थिए। पटक पटक अस्पताल भर्ना गर्दै केही दिनको उपचारपछि उनी डिस्चार्ज हुँदै आएका थिए। हिन्दुजा अस्पतालले उनको बुधबार बिहान साढे ७ बजे निधन भएको घोषण गरेको थियो । डाक्टर जलील पालकरले दिलीप कुमारको निधन भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसैगरी दिलीप कुमारकै ट्वीटर ह्यान्डलबाट पनि उनको निधनको जानकारी दिइएको छ। उनका पारिवारिक मित्र फारुकीका तर्फबाट निधनको जानकारी दिइएको हो। यसैबीच, उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै सांस्कृतिक दुनियाँका लागि ठूलो नोक्सानी भएको बताएका छन्। अद्वितीय प्रतिभा भन्दै मोदीले दिलीप कुमारलाई सिनेमाका लिजेन्डका रुपमा सधैं सम्झने उल्लेख गरेका छन्।

‘ट्रेजेडी किङ’ भनेर पनि चिनिने दिलीप कुमारले बलिउड फिल्म क्षेत्रमा पाँच दशक समय बिताएका थिए। उनका ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ जस्ता चर्चित फिल्म छन्। उनले १९९८ मा अन्तिम पटक काम गरेको फिल्म ‘किला’ थियो।

१९२२ डिसेम्बर ११ मा जन्मिएका दिलीप कुमारको खास नाम मोहम्मद युसुफ खान हो। फिल्मी क्षेत्रमा आएपछि उनी दिलीप कुमारका नामले प्रख्यात भए। हिट फिल्महरु सार्वजनिक हुँदै जाँदा उनको यही नाम लोकप्रिय र व्यावसायिक बनेको थियो। उनले कतिपय फिल्महरु निर्माण पनि गरेका छन्। उनलाई भारतीय फिल्ममा ‘मेथड एक्टिङ’ का लागि पनि चिनिन्छ।

बलिउडमा योगदानको कदरस्वरुप उनलाई फिल्मफेयर, उत्कृष्ट अभिनेता अवार्ड लगायत थुप्रै पुरस्कार र सम्मान प्रदान गरिएको छ। एकजना दिग्गज अभिनेताको निधनले बलिउड शोकमग्न बनेको छ। धेरै कलाकारहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कतिपयले उनीसँगका स्मरणहरु शेयर गरिरहेका छन्।

ताजा खबर