एकै महिनामा २५५ नेपाली विद्यार्थीलाई क्यानाडाको स्टडी पर्मिट

२०७८ असार २३ बुधबार १०:०३:०० मा प्रकाशित

अन्टारियो। विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको रोजाइमा क्यानाडा अग्रपङ्तिमा पर्न थालेको छ। एकै महिनाको अवधिमा अढाइ सयभन्दा धेरै नेपाली विद्यार्थीले क्यानाडाको अध्ययन अनुमतिपत्र (स्टडी पर्मिट) पाउनुले यसको पुष्टि गर्छ।

कोभिड–१९ ले विदेशी विद्यार्थीसहित नयाँ आप्रवासी भित्र्याउन मुस्किल परिरहेका बेला गत अप्रिलमा क्यानाडाले २५५ नेपाली विद्यार्थीलाई स्टडी पर्मिट दिएको छ। एकै महिनामा नेपाली विद्यार्थीले यतिका संख्यामा क्यानाडाको स्टडी पर्मिट पाएको पहिलोपल्ट हो।

यस वर्षको पहिलो त्रैमासिक अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा भने ३४५ नेपाली विद्यार्थीले क्यानाडाको स्टडी पर्मिट पाएका थिए। दोस्रो त्रैमासिकको पहिलो महिना अप्रिलमा भने अहिलेसम्मका सबै रेकर्ड तोड्दै २५५ जनाले स्टडी पर्मिट पाएका हुन्।

योसँगै चालु वर्षको सुरुका चार महिनाभित्र क्यानाडाको स्टडी पर्मिट हात पार्ने नेपाली विद्यार्थीको संख्या ५९५ पुगेको छ। यसले के संकेत गरेको छ भने कोभिड–१९ नियन्त्रणमा आउने क्रमसँगै आगामी महिनाहरुमा यो संख्या अझ बढ्दै जानेछ।

कोभिड–१९ कै असरले यात्रा प्रतिवन्ध लाग्दा गत वर्ष २०२० मा भने क्यानाडाको स्टडी पर्मिट पाउने नेपाली विद्यार्थीको संख्या ५३० मात्र थियो। वर्षभरीको त्यो संख्यालाई यसवर्ष भने सुरुका चार महिनाले नै उछिनेका छन्।

विशेष गरी नेपाली विद्यार्थीहरुले ‘पोष्ट ग्रयाजुएसन वर्क पर्मिट प्रोग्राम’अन्तर्गत क्यानाडालाई शैक्षिक गन्तव्य बनाउने गरेका छन्। त्यसरी आएकाहरुले तोकिएका कलेजमा पढ्दै निश्चित घण्टा काम गर्न पाउँछन्। क्यानाडा आउने नेपाली विद्यार्थीको पहिलो रोजाइ अन्टारियो प्रान्तमै देखिन्छ।

इमिग्रेसन, रिफ्युजीज् एण्ड सिटिजनशीप क्यानाडा (आइआरसीसी) ले कोभिड–१९ को प्रभाव क्रमश: घट्दै गएसँगै विदेशी विद्यार्थीहरु आउने क्रम बढ्न थालेको जनाएको छ। जसमा नेपाली विद्यार्थीहरुको उल्लिखित संख्या पनि सामेल छ।

यसैबीच, २०२१ को पहिलो त्रैमासिकमा क्यानाडाको जनसंख्या ८२ हजारले वृद्धि भएको छ। यसले संघीय सरकारको अस्थायी बासिन्दालाई स्थायीमा रुपान्तरण गर्ने रणनीतिअनुसार जनसंख्या वृद्धिमा सकारात्मक प्रभाव पार्नेछ।

सरकारले अस्थायी रुपमा बसोबास गरिरहेकाहरुलाई क्यानाडाको स्थायी बासिन्दा बन्ने सन्दर्भमा आवेदन लिएर प्रक्रियामा सहजता अपनाएको थियो। पछिल्लो समय प्राकृतिक हिसाबले क्यानाडाको जनसंख्या वृद्धिमा नकारात्मक असर देखिएका बेला आप्रवासीका कारण भने उत्साहजनक अवस्था रहेको बताइएको छ।

कम्तीमा २.१ प्रतिशत जनसंख्या वृद्धि भए अवस्था राम्र हुने भए पनि पछिल्लो समय ०.४ प्रतिशतले मात्र वृद्धि भइरहेको अवस्था छ। महामारी सुरु भएयता कोरोना भाइरसको संक्रमणले भएका मृत्यु संख्याका कारण पनि जनसंख्या वृद्धिमा असर गरेको जनाइएको छ। जन्म दर घट्नु पनि अर्को कारण बताएको छ।

यो वर्षको पहिलो चार महिनाको आइआरसीसीको तथ्यांकअनुसार क्यानाडाको लक्ष्य अनुसारका ४ लाख १ हजार नयाँ आप्रवासीको संख्या भने नपुग्ने देखिएको छ। ई स्वागत गरेको छ भने अप्रिलमा थप २१ हजार १०५ जना आप्रवासी थपिएका छन्।

 नेपाल टच nepaltouch.com मा बेनुप भट्टराई लेख्छन्- यो वर्षको लक्ष्य भेट्नलाई क्यानाडाले मे महिनादेखि डिसेम्बरसम्म थप ३८ हजार ६७५ नयाँ स्थायी बासिन्दालाई थप्न सक्नुपर्ने हुन्छ। आइआरसीसीले उक्त लक्ष्य पूरा गर्नका लागि हरसम्भव उपायहरु अपनाइरहेको जनाएको छ। महामारीकै अवस्थामा पनि आइआरसीसीले एक्सप्रेस इन्ट्रीका माध्यमबाट बढीभन्दा बढी आप्रवासी भित्र्याउने प्रयास गरिरहेको छ। २०२१ को हालसम्म ८८ हजारभन्दा बढी आवेदकलाई एक्सप्रेस इन्ट्री मार्फत् आमन्त्रण गरिएको छ।

ताजा खबर