युरो कप इटालीको फाईनल यात्रा 

२०७८ असार २३ बुधबार ०९:१५:०० मा प्रकाशित

काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित पराजित गर्दै इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ । बराबरी गोल फर्काएर नायक भएका स्पेनका अल्भारो मोराटा नै पेनाल्टीमा चुके ।

लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलको सुरुवातमा स्पेन हाबी भएपनि गोलको खाता खोल्न सकेन । २५ औं मिनेटमा डेनि ओल्मोको प्रहार इटालिका गोलकिपर डोनारुम्माले बचाएका थिए । इटालीका एमर्सनको प्रहारले पनि पोस्टको दिशा नलिएपछि पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ६० औं मिनेटमा इटालीले डेडलक तोड्यो । उसका लागि फेड्रिको कियजाले गोल गरे । उनले चिरो इम्बोबिलेको पासमा गोल गरेका    हुन् । तर निर्धारित ९० मिनेट भित्र जीत हात पर्ने संकेत गरेको इटाली विरुद्ध स्पेनले बराबरी गोल फर्कायो ।

८० औं मिनेटमा सब्सिच्युट मोराटाले ओल्मोको सहयोगमा गोल गरे । उनी ६२ औं मिनेटमा फरान टोरेसको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको गोलपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त  समयमा दुवै टिमबाट गोल हुन सकेन । त्यसपछि पेनाल्टिमा पुगेको खेलमा स्पेनमाथि इटालीले बाजी मार्यो । सुरुमा इटालीले पेनाल्टि प्रहार गरेको थियो । उसका म्यानुएल लोकाटेलीको प्रहार स्पेनिस गोलकिपर उनाइ सिमोनले बचाए ।

त्यसपछि पेनाल्टि प्रहारमा आएका स्पेनका ओल्मोले हावामा उडाए । इटालीका आन्द्रे बेलेटोली, लियानोर्दो बनुची तथा  स्पेनका जेरार्ड मोरेनो र थिएगो अल्कान्ताराले पेनाल्टिलाई सहजै गोलमा परिणत गरे । तर चौथो पेनाल्टी प्रहार गर्न आएका मोराटा चुके । उनको प्रहार इटालियन गोलकिपर डोनारुम्माले विफल पारिदिए । त्यसपछि जर्जिन्होले पेनाल्टीलाई गोलमा परिणत गरेपछि इटालीले सन् २०१२ पछि पहिलो पटक युरोको फाइनलमा स्थान बनाएको छ । इटाली चौथो पटक युरोको उपाधी नजिक पुगेको हो ।

मुख्य प्रतियोगितामा भने यो दशौं फाइनल हो । २०१२ मा इटाली स्पेनसँग नै पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । स्पेन पहिलो पटक मुख्य प्रतियोगिताको सेमीफाइनलबाट बाहिरिएको हो । रोबर्टो मान्सिनीको टोली इटाली ३३ खेल देखी अपराजित छ । अब उसको भेट इङल्यान्ड र डेनमार्क बीचको विजेता संग हुनेछ । दोस्रो सेमीफाइनल आज राती हुनेछ । 

 

ताजा खबर